शुक्रबार, बैशाख ११, २०८३

‘मौसमी वाचा’ बन्दै मझगाउँ र टीकापुर विमानस्थल

धनगढी: सुदूरपश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा एउटा मात्र धनगढी विमानस्थल सञ्चालनमा छ। यहाँ नियमित उडान हुन्छ। तर, कैलालीको पूर्वी क्षेत्र टीकापुर र कञ्चनपुरको महेन्द्रनगरमा रहेका विमानस्थल चलाउने मौसमी वाचा हुने गरेका छन्।

टीकापुर र महेन्द्रनगरबाट सडक यातायातमार्फत एक घण्टामै धनगढी विमानस्थल पुगिन्छ। यसबाहेक टीकापुर र महेन्द्रनगर दुवै विमानस्थलका धावनमार्ग साना छन्, जसले ठुला जहाज अवतरण हुँदैनन्। तर, सरकारपिच्छे विमानस्थल चलाउने भन्दै केही समय जहाज अवतरण गराउने काम हुँदै आएको छ। महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको धावनमार्ग कालोपत्र भइरहेको छ। तर, कान्छाराम केएस उमा एन्ड कम्पनीले ३५ करोड ६६ लाख लागतमा तीन वर्षमा निर्माण सक्ने गरी ०७८ मै ठेक्का लिए पनि पाँच वर्ष पुग्दासम्म सकिएको छैन। पछिल्लोपटक १० माघ ०८२ सम्मका लागि म्याद थप गरिएको छ।