धनगढी — नेपालको सुदूरपश्चिम क्षेत्रको पहिचान, संस्कृति र एकताको प्रतीक मानिने ‘सुदूरपश्चिम समाज’ को १६ औँ साधारण सभा शनिबार संघीय राजधानी काठमाडौंमा भव्यताका साथ भएको छ। सुदूरपश्चिमका नौवटै जिल्लाबाट काठमाडौंमा आएर विभिन्न पेशा, व्यवसाय, अध्ययन र सेवामा संलग्न रहेका सुदूरपश्चिमेलीहरूको बाक्लो उपस्थितिका बीच यो सभा एक उत्सवका रूपमा मनाइएको हो।
कार्यक्रमको समुद्घाटन समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी मायाप्रसाद भट्टले परम्परागत पानसमा दीप प्रज्वलन गरी गरिएकाे थियाे। उद्घाटन सत्रमा सुदूरपश्चिमको मौलिक पहिचान झल्काउने गरी महिलाहरूको एक सांस्कृतिक समूहले ‘सगुन’ गायन प्रस्तुत गरेका थिए। सुदूरपश्चिममा शुभ कार्यको सुरुवातमा गाइने यो मङ्गल गानले सभाको वातावरणलाई भक्तिमय र सांस्कृतिक रौनकता प्रदान गरेको थियो।
समुद्घाटन मन्तव्य राख्दै संस्थापक अध्यक्ष मायाप्रसाद भट्टले संस्थाको स्थापनाकालका दिनहरूको स्मरण गरे। उनले सुदूरपश्चिमबाट काठमाडौंमा आएर स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकहरूलाई एउटै सूत्रमा बाँध्न र आपसी सहयोग तथा सद्भाव कायम गर्न यो संस्थाको परिकल्पना गरिएको बताए। उनले भने, “हामी भूगोलले टाढा भए पनि भावनाले सधैँ जोडिएका छौँ। काठमाडौंमा रहेका हामी सबै संगठित भएर आफ्नो जन्मभूमिको विकासमा कसरी इँटा थप्न सक्छौँ भन्ने नै यो समाजको मुख्य उद्देश्य हो।”
साधारण सभाको यस पटकको विशेष आकर्षण साहित्यिक क्षेत्रमा केन्द्रित रहेको थियो। कार्यक्रमको अवसर पारेर सुदूरपश्चिमका विशिष्ट साहित्यकार डाक्टर हरिदत्त पाण्डेका दुईवटा नवप्रकाशित कृतिहरू ‘सेतीकालीका छाल’ र ‘मित्थ्यारी’ को भव्य लोकार्पण गरियो। प्रमुख अतिथि भट्ट लगायत उपस्थित विशिष्ट व्यक्तित्वहरूले ती कृतिहरूको सामूहिक रूपमा विमोचन गरेका थिए। नेपाली साहित्यको श्रीवृद्धिमा सुदूरपश्चिमको भूगोल र समाजलाई समेटेर लेखिएका यी कृतिहरूले थप आयाम थप्ने विश्वास व्यक्त गरिएको थियो।
विमोचित कृति ‘सेतीकालीका छाल’ माथि समीक्षात्मक टिप्पणी राख्दै प्रसिद्ध साहित्यकार डाक्टर दामोदर पुडासैनी ‘किशोर’ ले यो कृति नेपाली आञ्चलिक साहित्यको एक उत्कृष्ट नमुना भएको बताए। उनले कृतिमा प्रयोग गरिएको भाषा सरल तर निकै मिठासपूर्ण रहेको र यसले सेती र महाकाली क्षेत्रको जनजीवन, संस्कृति र प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा उतारेको उल्लेख गरे। पाठकले यो कृति पढ्दा सुदूरपश्चिमको माटोको सुगन्ध महसुस गर्ने उनको तर्क थियो।
त्यसैगरी, डा. पाण्डेकै अर्को कृति ‘मित्थ्यारी’ माथि साहित्यकार नगेन्द्रराज रेग्मीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएकाे थियो। रेग्मीले उक्त कृतिलाई अत्यन्त पठनीय र विचारोत्तेजक रहेको भन्दै प्रशंसा गरे। मानवीय स्वभाव र समाजका सूक्ष्म पाटाहरूलाई केलाउन लेखक सफल भएको भन्दै यो कृतिले नेपाली साहित्यको भण्डारमा एउटा इँटा थप्ने उनले बताए।
साहित्यिक र सांस्कृतिक गौरवको यस कार्यक्रममा समाजले विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो। समाजको विकास र विस्तारमा अतुलनीय योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष माया प्रकाश भट्टलाई कदर पत्रद्वारा सम्मान गरियो। त्यसैगरी, नवप्रकाशित कृतिका स्रष्टा डा. हरिदत्त पाण्डे, समीक्षकद्वय डा. दामोदर पुडासैनी ‘किशोर’ र नगेन्द्रराज रेग्मीका साथै साहित्यकारहरू डा. शैलेन्दु प्रकाश नेपाल, विदुर गौतम, नवराज रिजाल र राम संजेललाई पनि समाजको तर्फबाट कदरपत्र प्रदान गरी उनीहरूको योगदानको उच्च कदर गरिएको थियो।
सभामा उपस्थित अन्य वक्ताहरूले सुदूरपश्चिमको कला, संस्कृति र देउडा खेललाई राजधानीमा अझ बढी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए। समाजले विगतका वर्षहरूमा विपद्का समयमा गरेका राहत कार्य र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा पुर्याएको स्वास्थ्य तथा शिक्षाको सहयोगबारे पनि चर्चा गरिएको थियो। १६ औँ साधारण सभाको यो बसाइले काठमाडौंमा रहेका सुदूरपश्चिमेलीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको उपस्थित सदस्यहरूले बताएका थिए।
अन्त्यमा, समाजका पदाधिकारीहरूले संस्थालाई अझ बढी पारदर्शी, गतिशील र समावेशी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सुदूरपश्चिमको गौरव र गरिमालाई आत्मसात् गर्दै विभिन्न पेशामा रहेका प्रतिष्ठित व्यक्तिहरू, समाजसेवीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस सभाले सुदूरपश्चिमको विकास र समृद्धिको लागि काठमाडौंबाट सामूहिक आवाज उठाउने नयाँ ऊर्जा प्रदान गरेको छ।