बिहिबार, भदौ ४, २०८३

सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टारको लोक राउन्डमा नरेन्द्र राज र भवानी रेग्मी महागुरु

धनगढी, भदौ ३ — सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक कला, संस्कृति, लोकसंगीत र नृत्यको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना हुन लागेको सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टारको लोक राउन्डमा वरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्र राज रेग्मी र कुशल नृत्य निर्देशक तथा मोडल भवानी रेग्मी महागुरुका रूपमा रहने भएका छन्।

प्रतियोगिताको लोक राउन्डलाई विशेष महत्त्व दिइएको आयोजकले जनाएको छ। देउडा तथा लोकसंगीत क्षेत्रमा लामो अनुभव हासिल गरेका नरेन्द्र राज रेग्मीले प्रतियोगीहरूलाई लोकसंगीतको मौलिकता, लय, शब्द, गायनशैली र प्रस्तुतीकरणका विषयमा मार्गदर्शन गर्नेछन्।

त्यस्तै, नृत्य निर्देशक तथा मोडल भवानी रेग्मीले प्रतियोगीहरूलाई लोकनृत्यका चाल, हाउभाउ, भावभङ्गिमा तथा प्रस्तुति शैलीका विषयमा प्रशिक्षण तथा मार्गदर्शन गर्ने छन् ।।

दुवै अनुभवी कलाकारको सहभागिताले लोक राउन्डलाई थप प्रभावकारी तथा ज्ञानवर्धक बनाउने आयोजकको विश्वास छ। विशेषगरी सुदूरपश्चिम र कर्णालीका मौलिक देउडा, लोकगीत तथा लोकनृत्यलाई नयाँ पुस्तासम्म पुर्‍याउन महागुरुहरूको भूमिका महत्वपूर्ण हुने बताइएको छ।

 आकर्षक पुरस्कारले बढाउँदै प्रतिस्पर्धाको रौनक

प्रतियोगितामा उत्कृष्ट हुने प्रतिभाहरूका लागि आकर्षक पुरस्कार तथा अवसरको व्यवस्था गरिएको छ।

प्रथम हुने प्रतिभाले नगद २ लाख रुपैयाँ, ४ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो निर्माण, २ वर्षको सम्झौता तथा थाइल्यान्ड, मलेसिया र सिंगापुर भ्रमणको अवसर प्राप्त गर्नेछन्।

द्वितीय हुने प्रतिभाले नगद ७० हजार रुपैयाँ, ३ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो तथा १ वर्षको सम्झौता प्राप्त गर्नेछन्।

त्यस्तै, तृतीय हुने प्रतिभाले नगद ३० हजार रुपैयाँ, २ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो तथा ६ महिनाको सम्झौता पाउनेछन्।

चौथो हुने प्रतिभाका लागि नगद १३ हजार रुपैयाँ तथा १ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो, जबकि पाँचौँ हुने प्रतिभाले नगद ५ हजार रुपैयाँ तथा ५० हजार रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो प्राप्त गर्ने आयोजकले जनाएको छ।

सुदूरपश्चिम र कर्णालीका लुकेर रहेका गायन तथा नृत्य प्रतिभालाई ठूलो मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय कला, संस्कृति र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ।

सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टारको कार्यक्रम २०८३ भदौ ७ गते आयोजना हुँदैछ।