शुक्रबार, बैशाख ११, २०८३

“मापसे र गलत लाइट प्रयोग दुर्घटनाको कारण बन्दै गएपछि धनगढीमा ट्राफिकको कडा चेकिङ”

धनगढी –
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले रातिको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने घटना बढ्दै गएको पृष्ठभूमिमा धनगढीमा मोटरसाइकल तथा अन्य सवारी चालक लक्षित व्यापक सचेतना तथा सवारी चेकिङ कार्यक्रम सञ्चालन गरेको छ। रात्रीकालीन दुर्घटना न्यूनीकरणलाई मुख्य लक्ष्य बनाएर ट्राफिक प्रहरीले सक्रियता बढाएको हो।
कार्यक्रमअन्तर्गत मोटरसाइकल र अन्य सवारी साधनको कागजात, चालकको अवस्था तथा सवारीको प्राविधिक पक्ष चेकिङ गरिएको थियो। मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा हुने कानुनी कारबाहीबारे चालकहरूलाई जानकारी गराउँदै अनुशासित र जिम्मेवार सवारी सञ्चालनमा जोड दिइयो।
साथै, रातिको समयमा सवारी चलाउँदा लाइटको सही प्रयोग कसरी गर्ने, मोटरसाइकलमा हेडलाइट, साइड लाइट तथा इंडिकेटरको प्रयोग, अनावश्यक हाई बीम प्रयोग नगर्नुपर्ने विषयमा व्यवहारिक जानकारी गराइएको थियो। गाडी चालकहरूलाई पनि हेडलाइट, डिपर, पार्किङ लाइट र फग लाइटको सही प्रयोग गर्दा दुर्घटनाको जोखिम कसरी घटाउन सकिन्छ भन्नेबारे ट्राफिक प्रहरीले स्पष्ट पारेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी  निरीक्षक चक्रबहादुर देउवाले प्रदेश ट्राफिक तथा राजमार्ग सुरक्षा कार्यालय अत्तरियाको वार्षिक कार्ययोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। “रातिको समयमा मापसे, तीव्र गति र लाइटको गलत प्रयोग दुर्घटनाको मुख्य कारण बन्दै गएको छ, त्यसैले चेकिङसँगै सचेतनालाई प्राथमिकता दिएका हौँ,” उनले बताए।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि रात्रीकालीन सवारी चेकिङलाई निरन्तरता दिने, मापसे नियन्त्रणलाई प्रभावकारी बनाउने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ। धनगढीमा सञ्चालन गरिएको यो कार्यक्रमले सुरक्षित यातायात प्रवर्द्धन र दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।