शुक्रबार, बैशाख ४, २०८३

कञ्चनपुरका सीमानाकाबाट डिजेल तस्करी, १ सय लिटर बरामद

बेलौरी – कञ्चनपुरको बेलौरीबाट प्रहरीले भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएको १०० लिटर डिजेल बरामद गरेको छ ।

शनिवार इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका १ स्थित फटिया सीमा क्षेत्रबाट प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएको १०० लिटर डिजेल बरामद गरेको हो ।

बेलौरी प्रहरीका अनुसार ५०–५० लिटर क्षमताका दुई वटा जर्किनमा भरिएको उक्त डिजेल बेवारिसे अवस्थामा फेला परिएको थियो ।

बरामद गरिएको डिजेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सीमावर्तीबाट पछिल्लो समय इन्धन लगायतका अन्य दैनिक उपभोग्य वस्तुहरूको तस्करी बढ्दै गएको छ ।