पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३–२४ गतेको Gen Z आन्दोलनका घटनाबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म करिब दुई घण्टा उनले ६ पृष्ठ लामो बयान आयोगसमक्ष पेश गरेका थिए। गौरीबहादुर कार्कीको संयोजकत्वमा रहेको आयोगमा बयान दिएपछि लेखकले कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन पनि गरेका छन्।
आयोगमा दिएको बयानमा लेखकले आन्दोलनको पृष्ठभूमि, सुरक्षा व्यवस्थापना, आफूले लिएको नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षा स्पष्ट पारेका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफू गृहमन्त्री हुँदा सुरक्षाकर्मीलाई बल प्रयोग वा गोली चलाउन आदेश दिने कानुनी अधिकार नभएको बताए। “भदौ २३–२४ गते गोली प्रहार गर्न न त लिखित न त मौखिक आदेश दिइएको हो। यस्तो आदेश दिने कानुनी प्रावधान छैन,” उनले भने।
राजनीतिक नेतृत्वको हैसियतले पदीय नैतिक जिम्मेवारी स्वीकार गर्दै उनले राजीनामा दिएको बताए। उनका अनुसार आन्दोलनका क्रममा नेताका घर, आश्रम र राज्य संरचनामा नियोजित र प्रायोजित ढंगले आक्रमण भएको थियो। भदौ २४ गते छानीछानी तोडफोड, आश्रम जलाउने र गम्भीर आपराधिक गतिविधि भएको उनले दाबी गरे।
लेखकले Gen Z आन्दोलनमा घुसपैठ भएको र आन्दोलन सकिएको घोषणा भइसकेपछि पनि पूर्वनियोजित विध्वंश गरिएको स्पष्ट पारे। उनका अनुसार, आन्दोलनको नाममा घुसपैठ गरी तोडफोड र हिंसा मच्चाइएको हो।