धनगढी, १६ पुस / आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी स्वरूप धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका दुई सिटका लागि हुने निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गरिएको हो।
कार्यालयको संयुक्त रूपमा उद्घाटन कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत भुवन सिंह थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गर्नुभयो। कार्यालय उद्घाटनसँगै अब राष्ट्रियसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू औपचारिक रूपमा अघि बढ्ने जनाइएको छ।
सुदूरपश्चिम प्रदेशमा हुने यस निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी , नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूका मतदाता रहनेछन्। प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू निर्वाचनमा सहभागी हुनेछन्। निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सबै तयारी पूरा गरी समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।