शनिबार, जेष्ठ ३०, २०८३

भारतको तिकुनियामा ५० ग्राम स्मैकसहित कैलालीका दुई युवक पक्राउ

तिकुनिया (लखिमपुर खीरी)-
भारतको उत्तर प्रदेश राज्यस्थित लखिमपुर खीरी जिल्लाको तिकुनिया प्रहरी र सशस्त्र सीमा बल (SSB) को संयुक्त टोलीले सीमा क्षेत्रमा अवैध लागुऔषध विरुद्ध ठुलो सफलता प्राप्त गरेको छ। शुक्रबार गरिएको एक विशेष अपरेसनका क्रममा ५० ग्राम अवैध मादक पदार्थ ‘स्मैक’ सहित दुई नेपाली युवकलाई पक्राउ गरिएको छ।
लखिमपुर खीरीका प्रहरी उपरीक्षक संकल्प शर्माको निर्देशनमा जिल्लाभर चलाइएको ‘अपराध एवं अपराधी विरुद्धको अभियान’ अन्तर्गत यो सफलता मिलेको हो। प्रहरीका अनुसार, तिकुनिया थाना र एसएसबीको तृतीय वाहिनी ‘बी’ कम्पनी डांगाको संयुक्त टोलीले नियमित गस्ती र सुराकीको आधारमा शंकास्पद अवस्थामा रहेका दुई युवकलाई नियन्त्रणमा लिएको थियो। खानतलासी गर्दा उनीहरूको साथबाट ५० ग्राम स्मैक बरामद भएको थियो।
पक्राउ पर्ने दुवै अभियुक्तहरू नेपालको सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाका बासिन्दा हुन्।
जोशीपुर गाउँपालिकाका २४ वर्षिय जनार्दन थारू र २२ वर्षिय राहुल कठरिया रहेका छन ।
बरामद गरिएको ५० ग्राम स्मैकको बजार मूल्य अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई तिकुनिया थानामा ल्याई थप सोधपुछ गरिएको थियो। उनीहरू विरुद्ध नारकोटिक्स ड्रग्स एण्ड साइकोटपिक सबस्टेन्स एक्टको धारा ८/२१ अन्तर्गत मुद्दा दर्ता (मु.अ.सं. ०२/२०२६) गरिएको छ। प्रहरीले अभियुक्तहरूलाई आवश्यक वैधानिक कारबाहीका लागि स्थानीय अदालतमा पेश गर्ने तयारी गरिरहेको छ।
यो महत्त्वपूर्ण कारबाहीमा तिकुनिया थानाका उप-निरीक्षक अभिषेक कुमार, हेड कन्सटेबल बृजेश कुमार र एसएसबीका तर्फबाट एएसआई अच्युत साकियाको नेतृत्वमा पवन कुमार वर्मा, ओमकार सिकरवार, कन्हैया लाल, राजेश कुमार शा र अनुज कुमार लगायतका जवानहरू सहभागी थिए।
प्रहरी उपरीक्षक संकल्प शर्माले यस सफलताको प्रशंसा गर्दै सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार रोक्न निगरानी अझ कडा पारिने बताउनुभएको छ। खुल्ला सिमानाको फाइदा उठाउँदै हुने यस्ता तस्करीका गतिविधिहरूले दुवै देशका युवा पुस्तालाई नराम्रो असर पुर्‍याइरहेको प्रति सुरक्षा निकायले चिन्ता व्यक्त गरेको छ।