शुक्रबार, बैशाख ११, २०८३

धनगढीको मुटुमा ऐतिहासिक परिवर्तन – चौराहमा पृथ्वी नारायण चोक स्थापना, सिंगो सहरमा उत्सवको माहोल

धनगढी — सुदूरपश्चिमको केन्द्र धनगढीमा इतिहास, राष्ट्रभाव र पहिचानलाई एकैसाथ समेट्ने ऐतिहासिक क्षण साकार भएको छ। धनगढीको प्रमुख चौराहमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नाममा “पृथ्वी नारायण चोक” स्थापना भएसँगै सहरको स्वरूप नै फेरिएको छ।

यो चोक अब केवल यातायातको संगम मात्र होइन, राष्ट्र एकीकरणको प्रतीक, गौरवको केन्द्र र भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। चोकको नामाकरणसँगै धनगढीले आफ्नो इतिहाससँगको सम्बन्धलाई अझ बलियो बनाएको स्थानीयवासीहरूको भनाइ छ।

स्थानीय बासिन्दा, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा युवा पुस्ताले पृथ्वी नारायण चोक स्थापनालाई ऐतिहासिक उपलब्धिको संज्ञा दिएका छन्। “राष्ट्रनिर्माताको नाम सहरको मुटुमा आउनु भनेको धनगढीको पहिचान राष्ट्रिय स्तरमा अझ मजबुत हुनु हो,” एक स्थानीय अगुवाले बताए।

चोक स्थापनापछि यहाँको वातावरणमा समेत सकारात्मक परिवर्तन देखिएको छ। चोक वरिपरि राष्ट्रियता झल्किने दृश्य, बढ्दो चहलपहल र नागरिकहरूको उत्साहले धनगढीलाई नयाँ उचाइतर्फ डो¥याएको अनुभूति गरिएको छ।

पृथ्वी नारायण चोक अब धनगढीको चिनारी, गर्व गर्ने थलो र ऐतिहासिक सन्देश बोकेको केन्द्रका रूपमा स्थापित भएको छ। यसले न केवल वर्तमान पुस्तालाई इतिहास सम्झाउनेछ, बरु भावी पुस्तामा राष्ट्रप्रेमको भावना रोप्ने विश्वास गरिएको छ।

धनगढीले आज इतिहाससँग हातेमालो गरेको छ —
पृथ्वी नारायण चोकसँगै सहरले पाएको छ नयाँ पहिचान, नयाँ गर्व र नयाँ दिशा।