धनगढी । नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रदेश तथा निर्वाचन संयोजकहरूको जिम्मेवारी तोकेको छ। पार्टी केन्द्रीय सचिवालयको आज बसेको बैठकले विभिन्न प्रदेश र केन्द्रीय तहमा नेताहरूलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी नेता गणेश सिंह ठगुन्नालाई दिइएको छ। सुदूरपश्चिममा संगठन सुदृढीकरण, निर्वाचन रणनीति निर्माण तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी ठगुन्नाको काँधमा रहनेछ।
यसैगरी अन्य प्रदेश तथा विभागीय संयोजकहरू पनि तोकिएका छन्। कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत, काठमाडौँ उपत्यका (राजधानी) संयोजकमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा खगराज अधिकारी र कर्णाली प्रदेशमा यामलाल कँडेललाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, पार्टीको संगठन विभाग संयोजकको जिम्मेवारी भानुभक्त ढकाललाई प्रदान गरिएको छ। संगठन विभागलाई पार्टी विस्तार, सदस्यता व्यवस्थापन र आन्तरिक संगठनात्मक मजबुतीको प्रमुख जिम्मेवारी रहनेछ।
पार्टी स्रोतका अनुसार लुम्बिनी प्रदेशको संयोजक भने अझै टुंगो लाग्न बाँकी रहेको छ। सो प्रदेशको संयोजक चाँडै नै निर्णय गरिने बताइएको छ। नेकपा एमालेले तोकेका यी संयोजकहरूलाई आगामी निर्वाचन केन्द्रित रणनीति, संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको छ। पार्टीले यस निर्णयलाई संगठनात्मक पुनर्संरचना र चुनावी तयारीको महत्वपूर्ण चरणका रूपमा लिएको छ।