धनगढी । सुदूरपश्चिम प्रदेश सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८३/८३ का लागि प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी गर्न थालेको हो । प्रदेश सरकारले सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम सङ्कलन गरिरहेको प्रदेश नीति तथा योजना आयोगले जानकारी दिएको छ । आयोगका उपाध्यक्ष डा. जीवन रानाका अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम सङ्कलन गरिरहेको छ ।
उपाध्यक्ष रानाले भन्नुभयो, “सबै मन्त्रालयबाट सङ्कलन भइसकेपछि हामी नीति तथा योजना आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बसेर कुन कुन समेट्ने भनेर छलफल गर्छौं । दुवै निकायको सहमति अनुसार नीति तथा कार्यक्रम फाइनल हुन्छ ।”
उपाध्यक्ष रानाले यस पटकको नीति तथा कार्यक्रममा झिनामसिनाभन्दा पनि महत्वपूर्ण कार्यक्रम राखिने उल्लेख गर्नुभयो । प्रदेश सरकारले जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
यसैबिच प्रदेश सरकारले आगामी आवका लागि बजेटको सीमा अझै तयार गर्न बाँकी रहेको छ । बजेट सीमा तयार नहुँदै नीति तथा कार्यक्रमको तयारी भने सरकारले थालेको छ । सङ्घबाट राजस्व बाँडफाँटको विवरण आई नपुगेकाले बजेट सीमालाई अन्तिम रूप दिन नसकेको आयोगका उपाध्यक्ष रानाको भनाइ छ । उहाँले अब दुई/तीन दिनभित्रै राजस्व बाँडफाँटको विवरण आइपुग्ने अपेक्षा गर्दै भन्नुभयो, “अनुमानित सीमा त हामीले निर्धारण गरिसकेका छौँ तर राजस्व बाँडफाँटको विवरण पनि आएमा मात्रै बजेटको सीमा पूरा हुन्छ ।”