बुधबार, भदौ ३, २०८३

स्वास्थ्य बिमा तत्काल सञ्चालन गर्न रन्जु दर्शनाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शना न्यौपानेले स्वास्थ्य बिमा सेवा रोकिँदा नागरिकले सास्ती भोग्नुपरेको भन्दै तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बिमा जसरी भए पनि सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्। ‘स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर हो सञ्चालनमा ल्याइदिनुपर्‍यो,’ उनले भनिन्। सांसद न्यौपानेले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा निर्माण हुन लागेको फोहोर प्रशोधन केन्द्रप्रति पनि चासो व्यक्त गरिन्। उनले स्थानीय बासिन्दाले फोहोर प्रशोधन केन्द्र निर्माणको विरोध गरिरहेको भन्दै त्यसबाट स्थानीयको स्वास्थ्यमा पर्न सक्ने असरबारे संवेदनशील हुन सरकारलाई आग्रह गरिन्। ‘के बन्न लागेको छ टाँसिएको छैन, तर बन्न लागेको जरुर छ। त्यहाँ फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन्। आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ,’ उनले भनिन्।
त्यस्तै, राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका केही व्यक्तिको गत भदौ २४ गतेको घटनाका क्रममा सुनसमेत लुटिएको उल्लेख गर्दै उनले उनीहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन्। उनले सुन लुटिएपछि न सुन फिर्ता पाएको न त्यसबापतको रकम पाएको भन्दै पीडितहरूको गुनासो सम्बोधन गर्नुपर्ने बताइन्।