बुधबार, भदौ ३, २०८३

श्रीलङ्कामा मानिसको मूत्राशयबाट निकालियो ३.१ केजीको विशाल पत्थरी!

श्रीलङ्कामा चिकित्सकहरूले एक व्यक्तिको मूत्राशयबाट ३.१ किलोग्राम तौल भएको पत्थरी निकालेका छन्। अहिलेसम्म मानिसको पिसाबको थैलीबाट निकालिएको यो नै सबैभन्दा ठूलो पत्थरी भएको उनीहरूको दाबी छ।

यो शल्यक्रिया गत साता श्रीलङ्काको पूर्वी भागमा अवस्थित ट्रिन्कोमालीको एउटा अस्पतालमा गरिएको थियो।

ती बिरामी मस्तिष्काघात भएपछि अस्पतालमा भर्ना भएका थिए। उनको उमेर ५५ वर्ष भएको बताइएको छ। तर उपचारका क्रममा उनलाई पिसाब फेर्न गाह्रो भएको देखेपछि चिकित्सकहरूले उनको मूत्राशयमा पत्थरी रहेको पत्ता लगाए।

शल्यक्रिया गरेर चिकित्सकहरूले निकालेको उक्त पत्थरी पूर्ण रूपमा हुर्किएको नवजात शिशुको तौलजत्तिकै र अस्ट्रिचको अण्डाजत्रो आकारको थियो।

“उपलब्ध अभिलेखअनुसार शल्यक्रियामार्फत् निकालिएको र अभिलेखमा दर्ता भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मूत्राशयको पत्थरी हो,” शल्यक्रियाको नेतृत्व गरेका डा प्रहलहन बालकृष्णनले बीबीसी सिंहलासँग भने।

बिरामीको स्वास्थ्यस्थिति “अहिले धेरै राम्रो” रहेको तर अस्पतालमा राखेर उनको शरीरमा रहेका अरू समस्याको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।

डा बालकृष्णनले उक्त पत्थरी ती बिरामीको मूत्राशयमा पाँचदेखि १० वर्षदेखि रहेको हुन सक्ने अनुमान गरेका छन्।

कसरी बन्छ पत्थरी

पिसाबमा रहेका खनिज पदार्थहरू जमेर डल्लो परेपछि मूत्राशयको पत्थरी बन्छ।