काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुई समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ ।
दुई समुदायबिच भएको विवाद र उत्पन्न झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३ जनाले ज्यान गुमाए । साउन १० मा भएको सो घटनाको असर मधेस प्रदेशेको सिरहामा पनि फैलियो ।
साउन १४ मा सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । दुवै घटनाका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ । कप्तानगञ्जको झडपमा मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् ।चारै जनाको मृत्यु ‘सुरक्षाकर्मीको गोली लागेर’ भएको छानबिन समितिको निष्कर्ष छ । कप्तानगञ्ज घटनाबारे सहसचिव भुपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो । दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘चारैजनाको मृत्यु सुरक्षाकर्मीको गोलीबाट नै भएको छानबिन समितिको निष्कर्ष छ ।’
कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्रले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको छानबिनबाट देखिएको छ । कप्तानगञ्जमा कुल २० राउण्ड गोली चलेको भेटिएको छ । कप्तानगञ्जमा भएको झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाश कुमार श्रेष्ठ खटिएका थिए । दुवै समुदायका मानिसहरूले उनीहरूलाई चिर्पट, ढुंगा, बाँस र लाठीमार्फत आक्रमण सुरु गरेपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । घटनास्थलमा इन्स्पेक्टर राईले गोली चलाएको छानबिनबाट देखिएको छ । पछि सशस्त्रका सुरक्षाकर्मीले पनि गोली चलाएको र मानविय क्षति भएको छानबिन समितिको निष्कर्ष छ ।
सिरहाको गोलबजारमा सशस्त्र प्रहरीले गोली चलाएको भेटिएको छैन । गोलबजारमा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष छ । गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार गोलबजारमा ७ राउण्ड ‘डमी राउण्ड’ र पेस्तोलबाट २ राउण्ड गोली चलेको भेटिएको छ । गोलबजारमा प्रहरीका इन्स्पेक्टर सुदन केसी भिड नियन्त्रणमा खटिएका थिए । उनले बोकेको पेस्तोलबाट गोली चलेको छानबिन निष्कर्ष छ । प्रदर्शनकारीको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले साउन १५ मा केसीलाई त्यहाँबाट हटाएको थियो । गोलबजारमा अहिले इन्स्पेक्टर दिपक खरेल कार्यरत छन् ।
छानबिन समितिले घटनामा संलग्न सुरक्षा अधिकृतहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिका जना सदस्य भन्छन्, ‘लापरवाही र सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।’
‘बाहिरी हतियार प्रयोग छैन’
दुवै जिल्लामा झडप हुँदा भिडबाट पनि गोली चलाइएको अफवाह फैलिएको थियो । तर, छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्यत्रबाट गोली चलेको नेखिएको रिपोर्ट बुझाएको छ ।
लहान नगरपालिका–४ मा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा एक प्रहरी कर्मचारीलाई गोली लागेको प्रहरीले दाबी गरेको थियो । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा घुँडाभन्दा मुनि गोली लागेको बताएको थियो । तर, छानबिन समितिले उनलाई गोली नलागेको प्रतिवेदन बुझाएको छ ।
दुवै घटनामा बाहिरबाट हतियार प्रयोग पुष्टि नभएको छानबिन समितिका एकजना सदस्यले बताए । उनले भने, ‘बाहिरबाट हतियारको प्रयोग भएको देखिएन ।’
छानबिन समितिले घटनाको सामाजिक पक्ष, धार्मिक पक्ष र सुरक्षाको दृष्टिकोणबाट विष्लेषण गरेर प्रतिवेदन बुझाएको छ । सुझाव खण्डमा भविष्यमा यस्ता घट्ना नदोहोरिन अपनाउनुपर्ने उपायबारे सुझाइएको छ । अहिले भएको घटनामा कस्को के भूमिका थियो भन्नेबारे पनि उल्लेख गरिएको छानबिनमा संलग्न एक अधिकृतले बताए ।