शुक्रबार, बैशाख ११, २०८३

अनुपमा अलरान्डर्स पिएफए भेट्रान्स कपको फाईनलमा प्रवेश

अत्तरिया– धनगढीको अनुपमा अलराउन्डर्स कैलालीको अत्तरियामा जारी करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको पहिलो क्वालिफायर खेलमा गेटा रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै अनुपमा फाईनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको गेटाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३० रन बनाएको थियो । उसका लागि निरज चन्दले ३१ रन बनाएका थिए भने विपिन चन्द र सन्तोष भट्टले समान २१/२१ रन बनाए । बलिङमा अनुपमाका एकिन्द्र बहादुर बम र सरोज सुनारले २/२ विकेट लिए । १३१ रनको विजयी लक्ष्य पछ्याएको अनुपमा अलराउन्डर्सले निर्धारित २० ओभरमा ९ विकेटका क्षतिमा १३० रन बनायो ।

उसका लागि प्रेम साउँद र सरोज सुनारले समान ३४/३४ रन बनाए । निकै प्रतिष्पर्धात्मक बनेको पहिलो क्वालिफायर खेलको दोस्रो इनिङको १५औ ओभरसम्म गेटाले आफ्नो पक्षमा राखेको थियो । उसले अनुपमालाई निकै दवावमा राख्न सफल भएको थियो । दोस्रो इनिङको १५औ ओभर सकिदा अनुपमा ७ विकेट गुमाएर ७९ रनको अवस्थामा थियो । तर अन्तिम ५ ओभरमा प्रेम साउँद र सरोज सुनारको जोडीले अनुपमालाई खेलमा फर्काएका थिए । १९औ ओभरमा दुवै विकेट गएपछि भने पुनः अनुपमा दवावमा आएको थियो । तर अन्तिममा अनुपमाले खेललाई बराबरीमा पु¥याउन सफल भयो । बलिङमा गेटा रोयल्सका नरेन्द्र चन्दले ४ र जगदिश ठगुन्नाले ३ विकेट लिएपछि अनुपमालाई रोक्न सकेनन् ।

सुपर ओभरमा गएको खेलमा अनुपमाले ८ रन बनायो । ९ रनको लक्ष्य पाएको गेटा रोयल्सका दुवै ब्याट्सक्यान शुन्यमा आउट भएपछि अनुपमा फाईनल पुग्ने पहिलो टिम बन्न सफल भएको हो । पहिलो क्वालिफायरमा पराजित भएको गेटा रोयल्सले आजै हुने दोस्रो नक आउट खेलको विजेता सँग फाईनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ । आजको दोस्रो खेल अत्तरिया सिटी र कैनोडा लायन्स बिच हुने आयोजक पिएफए युवा क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए ।

यही पौष १५ गतेदेखी सुरु भएको प्रतियोगिता २६ गते सम्पन्न हुनेछ । प्रतियोगितामा कैलाली कञ्चनपुरका ८ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टीमले नगद १ लाख २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले नगद ६५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका महासचिव बोहराले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १५ हजार तथा बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समान नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।