बिहिबार, बैशाख १०, २०८३

कैलाली र कञ्चनपुरलगायत पश्चिम तराईमा शीतलहर अझै लम्बिने

धनगढी । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलगायत पश्चिम तराई क्षेत्रमा शीतलहरको प्रभाव अझै कायमै रहने जल तथा मौसम विज्ञान कार्यालयका अधिकारीहरूले बताएका छन् । पुस पहिलो सातादेखि नै पश्चिम तराई क्षेत्र शीतलहरको चपेटामा परेको हो । अत्यधिक चिसोसँगै शीतलहरका कारण यहाँको जनजीवन कष्टकर हुनुका साथै हिउँदे तरकारी र तोरीबालीसमेत प्रभावित हुन थालेको छ ।

‘दिउँसोतिर फाट्टफुट्ट केही समय घाम झुल्किएको देखा परे पनि शीतलहरको प्रभाव भने माघसम्मै लम्बिने सम्भावना देखापरेको छ,’ कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख इन्जिनियर सञ्जय शाहले भने, ‘हिउँदे वर्षा नभएकै कारण शीतलहरको प्रभाव लम्बिँदै गएको हो ।’ उनका अनुसार पश्चिमी वायुको प्रभाव देखा नपरेका कारण हिउँदे वर्षा हुन नसकेकाले पश्चिम तराईसँगै देशका अन्य तराई क्षेत्रमा पनि शीतलहर लम्बिने सम्भावना बढेको हो ।

पुस महिनाको तेस्रो साता सकिइसग्दा समेत हिउँदे वर्षा हुन नसकेकै कारण शीतलहरको प्रभाव माघसम्म लम्बिन लागेको अनुमान गरिएको इन्जिनियर शाह बताउँछन् । ‘यो समयमा पानी नपर्नु नै शीतलहर प्रभाव बढ्नुको प्रमुख कारण हो,’ उनले भने, ‘हालको अवस्था एक किलोमिटर दूरीसम्म कुहिरो र पाँच किलोमिटरसम्म सडकसमेत नदेखिने गरी हुस्सुले बिहान र साँझ पूरै ढाकेको हुन्छ र सिमसिमे शीत झरिरहेको हुन्छ ।’

कैलाली र कञ्चनपुरको न्यूनतम तापक्रम पनि घटेर पुस महिना सुरु भएयता ६ देखि १२ डिग्री सेल्सियसको हाराहारीमा रहेको प्रमुख शाहले जानकारी दिए । एकझरी पानी परेर आकाश छर्लंग हन सके शीतलहरको प्रभाव पनि घट्दै जाने उनी बताउँछन् । तराईमा हिउँदे याममा पश्चिमी वायुको प्रवेश भएमा मात्रै वर्षा हुने गरेको छ । तराई क्षेत्रसँगै सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हिउँदे वर्षा भएको छैन ।

‘यो जलवायु परिवर्तनको पनि असर मान्न सकिन्छ, हिउँदमा उच्च लेकाली भेगमा हिउँ र तराईमा पानी परे हिउँदे बालीनाली पनि सप्रिन्छ, चिसो र शीतलहर बढ्दै गए तरकारी उत्पादनमा ह्रास आउँछ,’ इन्जिनियर शाहले भने ।