बिहिबार, बैशाख १०, २०८३

चुनाव लक्षित नेपाल–भारत सुरक्षा बैठक

धनगढी– कैलालीको गोदावरी नगरपालिकामा नेपाल–भारतबीचको मैत्रीपूर्ण सुरक्षा समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरक्षा बैठक भएको छ । बिहीबार सम्पन्न उक्त बैठकमा कैलाली र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख अधिकारीहरू तथा भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्लाका सुरक्षा प्रमुखलगायतको सहभागिता रहेको थियो । सीमावर्ती क्षेत्रमा देखिने साझा सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा आगामी निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषय बैठकको मुख्य केन्द्रमा रहेको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार बैठक विशेषगरी सीमा क्षेत्रमा हुने अपराध, अवैध आवतजावत, तस्करी, मानव ओसारपसार, लागूऔषध कारोबारलगायतका गतिविधि नियन्त्रणमा केन्द्रित थियो । साथै फागुन २१ गते हुने नेपालको निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा कडाइ गर्ने, सूचनाको आदान–प्रदानलाई प्रभावकारी बनाउने र संयुक्त समन्वयमा सुरक्षा रणनीति लागू गर्ने विषयमा गहन छलफल भएको उनले जानकारी दिए ।
नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरूबीच पारस्परिक आवतजावत सहज भए पनि सोही खुलापनका कारण अपराधी समूहले फाइदा उठाउने गरेको सुरक्षा निकायको निष्कर्ष रहेको छ । बैठकमा सीमावर्ती क्षेत्रमा सक्रिय आपराधिक सञ्जाल, चोरी, तस्करी तथा निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधिलाई रोक्न संयुक्त गस्ती, नियमित सम्पर्क बैठक र तत्काल सूचना साझेदारी गर्ने सहमति गरिएको छ ।
भारतीय पक्षका प्रतिनिधिहरूले पनि निर्वाचनको संवेदनशील समयमा दुवै देशका सुरक्षा निकायबीच विश्वास र सहकार्य अत्यन्त आवश्यक रहेको बताएका थिए । उनीहरूले सीमापार अपराध नियन्त्रणका लागि संयुक्त प्रयासलाई अझ प्रभावकारी बनाउने, शंकास्पद गतिविधिमाथि निगरानी बढाउने र आवश्यक परेमा तत्काल समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा निर्वाचनको समयमा सीमाबाट हुने अवैध आवतजावत, मतदातालाई प्रभाव पार्ने प्रयास, अवैध रकम तथा सामग्री ओसारपसारजस्ता सम्भावित जोखिमबारे पनि छलफल भएको थियो । यसका लागि सीमा नाकाहरूमा कडाइ गर्ने र सुरक्षाकर्मीको परिचालन बढाउने विषयमा दुवै पक्ष सहमत भएका छन् । साथै, निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन सुरक्षा निकायले निगरानी बढाउने निर्णय पनि बैठकमा भएको छ ।
कञ्चनपुर र कैलाली जिल्ला भारतसँग प्रत्यक्ष सीमाना जोडिएका क्षेत्र भएकाले यहाँको सुरक्षा अवस्था दुवै देशका लागि संवेदनशील मानिन्छ । पछिल्ला वर्षहरूमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारतबीच नियमित रूपमा यस्ता सुरक्षा समन्वय बैठकहरू हुँदै आएका छन् । यस प्रकारका बैठकले आपसी विश्वास बढाउनुका साथै तत्काल समस्या समाधानमा सहयोग पु¥याएको सुरक्षाकर्मीहरूको अनुभव छ ।
स्थानीय प्रशासनका अनुसार बैठकले केवल निर्वाचन लक्षित सुरक्षा मात्र नभई दीर्घकालीन सीमा व्यवस्थापनमा पनि सकारात्मक सन्देश दिएको छ । सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम भएमा स्थानीय जनजीवन सहज हुने र दुवै देशबीचको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ ।
बैठकको अन्त्यमा दुवै पक्षले आगामी दिनमा पनि यस्ता समन्वयात्मक बैठकलाई निरन्तरता दिने, आवश्यकता अनुसार संयुक्त अभ्यास तथा तालिम सञ्चालन गर्ने र सीमावर्ती क्षेत्रका नागरिकसँग समेत सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन् ।