अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ स्थित वडा कार्यालयमा लगाइएको ताला १० दिनपछि बिहीबार तोडिएको छ। डिडिसी दुग्ध विकास संस्थान स्थानान्तरणको विरोधमा स्थानीय र संघर्ष समितिले वडा कार्यालयमा तालाबन्दी गरेका थिए।
वडाध्यक्ष गोपाल दत्त भट्टले डिडिसी स्थानान्तरणको विरोधमा आफूहरू अझै प्रतिबद्ध रहे पनि वडाको नियमित कामकाज र सेवाग्राही प्रभावित भएकाले ताला खोल्नुपरेको बताए। उनले डिडिसी यहीँ सञ्चालन गराउन जग्गा व्यवस्थापन र आर्थिक सहयोगका लागि वडा तथा पालिका तयार रहेको स्पष्ट पारे।
भट्टका अनुसार नगरप्रमुखले आउँदो वर्ष डिडिसी सञ्चालनका लागि २५ देखि ५० लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाएका छन्। उनले तालाबन्दीका कारण सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमा माग्दै संघर्ष समितिलाई गलत अर्थ नलगाउन आग्रह गरे।
वडासदस्य गम्भीर साउँदले वडा कार्यालयमा तालाबन्दी हुँदा वडाबासीका महत्वपूर्ण काम रोकिएकाले बाध्य भएर ताला खोलिएको बताए। उनले डिडिसी कायम रहँदा रोजगारी र स्थानीय विकासमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।
डिडिसी धनगढी सार्ने प्रक्रिया सुरु भएपछि स्थानीयले अत्तरिया स्थित डिडिसी कार्यालय, कारखाना र वडा कार्यालयमा तालाबन्दी गरेका थिए। पुस १४ गते गरिएको वडा कार्यालयको तालाबन्दी १० दिनपछि खोलिएको हो।