अत्तरिया (कैलाली) : कैलालीको अत्तरियामा जारी पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि अनुपमा अलराउन्डर्स र कैनोडा लायन्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा गेटा रोयल्सलाई ४० रनले पराजित गर्दै कैनोडा लायन्सले सातौँ संस्करणको भेट्रान्स कपको फाइनल यात्रा तय गरेको हो।
टस जितेर ब्याटिङ रोजेको कैनोडा लायन्सले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनायो। ओपनर लोकेन्द्र सिंह थापाले २४ बलमा ४८ रनको आकर्षक पारी खेले, जसमा २ चौका र ६ छक्का समावेश थिए। छैटौँ नम्बरमा आएका सन्जु चन्दले २३ बलमा ३१ रन जोडे। गेटा रोयल्सका बलर विपिन चन्द, नरेन्द्र चन्द, सन्तोष भट्ट र हरिष कार्कीले समान २–२ विकेट लिए। कैनोडाले १३ अतिरिक्त रन प्राप्त गर्यो, जसमा १२ रन वाइड थिए।
१३७ रनको लक्ष्य पछ्याएको गेटा रोयल्स १७.२ ओभरमा ९६ रनमै अलआउट भयो। हरिष कार्कीले ४४ रनको संघर्षपूर्ण पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। प्रेम महरा (१३) र निरज चन्द (११) बाहेक अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
कैनोडाका बलर चित्र भुषण चन्द र सुरेश सिंह पुजाराले किफायती बलिङ गर्दै ३–३ विकेट लिए। सन्जु चन्दले पनि २ विकेट हात पारे। प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक पिएफए युवा क्लबले जनाएको छ।