शुक्रबार, बैशाख ११, २०८३

बैतडीमा निर्वाचनको तयारी तीव्र

बैतडी – बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तिब्र रुपमा थालिएको छ । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय बैतडीले मतदाता परिचालन गर्ने लगायतका कार्यहरु तिब्र रुपमा गरिरहेको हो ।

जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन आयोग, सुरक्षा निकाय तथा स्थानीय प्रशासनले आवश्यक तयारी अगाडि बढाएका बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य पौडेलले जानकारी दिए । उनले मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, सुरक्षाको प्रबन्ध तथा अपाङ्गता भएका र ज्येष्ठ नागरिकमैत्री मतदान केन्द्र निर्माणमा विशेष ध्यान दिइएको बताए । जिल्लाका दुर्गम क्षेत्रसम्म मतदाता सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले भौतिक तथा प्राविधिक तयारीलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।

राजनीतिक दलहरू पनि निर्वाचनलाई केन्द्रमा राख्दै घरदैलो अभियान, सभासम्मेलन र जन सम्पर्कलाई तीव्र बनाइरहेका छन् । बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । जसमध्ये ७८ हजार ९८७ पुरुष र ७७ हजार ३८३ महिला तथा २ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । उनले उक्त संख्या अघिल्लो निर्वाचनको तुलनामा बढी रहेको बताए ।