धनगढीः थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कैलालीका थारु बस्तीहरूमा उत्साह र चहलपहल तीव्र बनेको छ। माघीको आगमनसँगै थारु गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष, महिला, बालबालिका तथा वृद्धसम्म पर्वको तयारीमा जुटेको देखिन्छ। गाउँमा कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनजंगलबाट साल र मालुका पात सङ्कलन गरिरहेका छन्। महिलाहरू घरआँगनमै बसेर पातका दुना–टपरी बनाउन व्यस्त छन्। माघी पर्वमा पाहुनालाई दुना–टपरीमै खाना पस्किने परम्परा रहेकाले यसले थारु समुदायको प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउने स्थानीय बताउँछन्।
धनगढी उपमहानगरपालिका–६ जाली गाउँका जगतराम चौधरीका अनुसार माघी पर्वमा थारु समुदायका मौलिक परिकारहरू विशेष महत्वका साथ प्रस्तुत गरिन्छ। ‘माघीमा अनिवार्य मानिने ढिक्री, अनदीको भात, सुँगुरको मासु र जाँड घरकै महिलाहरूले तयार गरी पातबाट बनेका दुना–टपरीमा पस्किने चलन छ,’ उनले भने। उनका अनुसार ती परिकारको तयारी अहिले अन्तिम चरणमा पुगेको छ। माघीको तयारीका क्रममा महिलाहरू घरघरमा अनदी चामल भिजाउने, पकाउने र जाँड राख्ने काममा व्यस्त छन्। पुरुषहरू सुँगुरको जोहोमा लागेका छन् भने केही महिला र पुरुषहरू नदी, खोला, तालतलैया तथा पोखरीमा माछा मार्ने कार्यमा समेत संलग्न छन्।
उनका अनुसार धनगढी–६ जाली गाउँमा पुस ३० गतेदेखि माघ २ गतेसम्म माघी मेला आयोजना गरिनेछ।
थारु समुदायमा माघी पर्वलाई पुराना मनमुटाव भुलेर मित्रता गाँस्ने पर्वका रूपमा लिने गरिन्छ। ‘माघीमा आपसी शत्रुता टुंग्याउने, सम्बन्ध सुधार्ने र नयाँ वर्षलाई सकारात्मक सोचका साथ सुरु गर्ने परम्परा छ,’ फुलराम चौधरीले भने। माघी पर्वको अर्को महत्वपूर्ण पक्ष भनेको गाउँको नयाँ नेतृत्व चयन हो। माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मा वर्षभरको आय–व्ययको समीक्षा गरिनुका साथै आगामी वर्षका लागि नयाँ भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवा चयन गर्ने परम्परा रहेको छ।
स्थानीयका अनुसार माघी केवल खानपान र रमाइलोमा सीमित पर्व होइन, यो थारु समुदायको पहिचान, संस्कृति, सामाजिक एकता र आत्मसम्मानको प्रतीक हो। माघी नजिकिँदै जाँदा कैलालीका थारु बस्तीहरूमा उमंग, रौनक र सामूहिकताको भावना झनै प्रगाढ बन्दै गएको छ।