अत्तरिया – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार अत्तरिया स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १७ जनाले राजनीतिक दल र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन ।
नेपाली कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) ले उम्मेदवारी गर्दा गरेका छन् । उनले वारिसनामा मार्फत उम्मेदवारी गर्दा गरेका हुन । उनको वारेसका रूपमा तेज खड्काले उम्मेदवारी दर्ता गराएका थिए । विष्टको प्रस्तावकमा मीन जोशी र समर्थकमा करन साउँद रहेका छन् । विष्ट काठमाण्डौंमा रहेकाले वारिसनामा मार्फत उम्मेदवारी गर्दा गरिएको काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति वसन्त रोकायाले बताए ।
नेकपा एमालेबाट लेख राज भट्टले उम्मेदवारी गर्दा गरेका छन् । मंगलबार दिउँसो ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी गर्दा गराएका थिए । उम्मेदवारी दर्ताको क्रममा पत्रकारहरू सँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विशेष परिस्थितिमा आफूले उम्मेदवारी दिएको बताए । उनले सुदूरपश्चिमका समस्या पहिचान गरी यस प्रदेशलाई समृद्ध बनाउनका लागि आफ्नो उम्मेदवारी भएको बताए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीबाट हरि राम चौधरीले उम्मेदवारी गर्दा गराएका छन् । उनले पनि ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए । उनले पनि विशिष्ट घडीमा भइरहेको निर्वाचनमा आफूले जेनजीको मागलाई आत्मसाथ गर्दै निर्वाचनमा उठेको बताए । उनले जेनजी आन्दोलन महत्वपूर्ण रहेकाले जेनजी आन्दोलनलाई महत्वका साथ लिएर आफू चुनावमा होमिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने २ जनाको उम्मेदवारी परेको छ । बिहान हरि प्रसाद रेग्मीले उम्मेदवारी दिएपछि साँझ सोही पार्टीबाट खेमराज कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी सभापति रबी लामिछानेले नै हरि रेग्मीको उम्मेदवारी खारेज गरी उनको ठाउँमा खेमराज कोइरालालाई आधिकारिक उम्मेदवार दर्ता गरिदिन पत्र पठाएपछि २ जनाको उम्मेदवारी दर्ता हुन पुगेको हो ।
यसअघि रेग्मीले पार्टीको आधिकारिक टिकट लिएर नै उम्मेदवारी दर्ता गरेका थिए । तर, पछि निर्वाचन क्षेत्र बाहिरबाट उम्मेदवार ल्याइएको भन्दै विरोध भएको थियो । कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयले भने रेग्मीको उम्मेदवारी दर्ता भइसकेकाले तत्काल खारेज गर्न नमिल्ने बताएको छ । निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले पत्र अनुसार खेमराज कोइरालाको पनि उम्मेदवारी गर्दा गर्न मिल्ने भए पनि पहिले दर्ता भएको हटाउन नमिल्ने भएकाले कोइरालाको मेनुअल उम्मेदवारी गर्दा गरिएको बताए । ‘हामीले दुवै जनाको नाम माथि पठाउँन्छौ । माथिबाट निर्णय जे आउँछ, त्यही अनुसार कायम हुन्छ’ उनले भने ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल रजवारले उम्मेदवारी दर्ता गराएका छन् । ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी गर्दा गरेका थिए । उनले आफू सबैभन्दा कान्छो युवा उम्मेदवार रहेको दाबी गर्दै अहिलेको समयको माग अनुसार आफूले काम गर्ने बताए ।
यसैबिच निर्वाचन आयोगले तोकेको समयमा नागरिक उन्मुक्ति पार्टी, नेपालबाट धन बहादुर सुनार, राष्ट्रिय जनमोर्चा पार्टीबाट हेम राज भट्ट, नेपाल मजदुर किसान पार्टीबाट अमृता भूल, उज्यालो नेपाल पार्टीबाट सुभाष कुँवर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट भक्त बहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट मोहन देव मिश्र, नेपाल मानवतावादी पार्टीबाट यज्ञ बहादुर टमोटा, नेपाल रिपब्लिक नेपाल पार्टीबाट गोपीलाल चौधरी, श्रम संस्कती पार्टीबाट भीम बहादुर थापा मगर र मितेरी पार्टी नेपालबाट दिनेश कुमार मल्लले उम्मेदवारी गर्दा गराएका छन् । यस्तै स्वतन्त्रबाट छत्र बहादुर भट्ट खत्रीले उम्मेदवारी गर्दा गरेका छन् ।