अत्तरिया – सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि पुस मसान्तसम्म ६७४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी १०१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) टेक बहादुर जोराले जानकारी दिएका छन् ।
कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा ६६० जना गम्भीर घाइते भएका छन् भने ५२८ जना सामान्य घाइते भएका छन्।
सवारी कारबाहीबाट १ करोड ५२ लाख ७७ हजार ५०० रुपैयाँ राजस्व
यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १९ हजार ५६२ सवारी साधनमाथि कारबाही गर्दा १ करोड ५२ लाख ७७ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। साथै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार ८०४ जनामाथि कारबाही हुँदा ९ लाख ९४ हजार रुपैयाँ राजस्व उठेको छ ।
ट्राफिक जनचेतनामा ५५ हजारभन्दा बढी लाभान्वित
विद्यार्थी, चालक तथा सर्वसाधारणलाई लक्षित गरी २७८५ वटा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ८५ हजार २१० जना लाभान्वित भएका छन्।
५७ स्थानमा ‘ब्ल्याक स्पट’ पहिचान
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशका ९ जिल्लामा ‘ब्ल्याक स्पट म्यापिङ’ गरी ५७ स्थान पहिचान गरिएको छ । ती स्थानमा दुर्घटना सम्बन्धी चेतनामूलक ट्राफिक संकेत बोर्डसमेत राखिएको छ।
प्रविधि र कडाइ
प्रदेशका ९ जिल्लामा ई–चालान प्रणाली लागू गरिएको छ भने १६ स्थानमा TVRS प्रणाली सञ्चालनमा छ। साथै लामो दूरीका सवारी साधनमा चालक परिवर्तन तथा थकान जाँचका लागि TCA सेवा १० स्थानमा सुरु गरिएको छ।
मापसे, लागुपदार्थ सेवन, ओभरस्पिड, मोडिफाइड सवारी तथा रात्रीकालीन कडाइका साथ चेकजाँच भइरहेको प्रहरीले जनाएको छ ।
साथै चालु आर्थिक वर्षमा ६ हजार ७३२ वटा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको र ब्ल्याक स्पट क्षेत्रमा विशेष सचेतनामूलक कार्यक्रम सुरु गरिएको सूचना अधिकारी टेक बहादुर जोराले जानकारी दिए ।
