धनगढी – कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बृहत् चुनावी रणनीतिक छलफल गरेको छ । पार्टी संगठनलाई एकताबद्ध बनाउँदै निर्वाचनमा प्रभावकारी रूपमा होमिनुका साथै मतदातामाझ काँग्रेसका एजेन्डा पु¥याउने उद्देश्यसहित आयोजित उक्त बैठकलाई आगामी निर्वाचनको तयारीमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
क्षेत्रीय सभापति भीम पडालको अध्यक्षतामा बसेको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमितिका पदाधिकारी, कैलाली जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । लामो समयपछि क्षेत्रीय तहमा यति व्यापक सहभागितासहित रणनीतिक छलफल हुनुले पार्टीभित्र चुनावी माहोल बन्दै गएको संकेत दिएको छ ।
बैठकको सुरुआत स्वागत मन्तव्यसहित गरिएको थियो । नेपाली काँग्रेस कैलालीका जिल्ला सचिव नृप सुनारले पार्टीभित्र देखिएका चुनौती र अवसरबारे चर्चा गर्दै आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए । उनले संगठनभित्र समन्वय, संवाद र अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
बैठकको सञ्चालन सुदूरपश्चिम प्रदेश क्षेत्रीय सचिव विजयराज जोशीले गरेका थिए । उनले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै चुनावी रणनीतिलाई व्यवहारमा उतार्न छलफल केन्द्रित गरिएको बताए । उनका अनुसार यो बैठक केवल औपचारिक कार्यक्रम नभई आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाको आधार तयार गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले काँग्रेसले देशको नेतृत्व गर्दा गरेका सकारात्मक कार्यहरू मतदातासमक्ष प्रभावकारी रूपमा पु¥याउनुपर्ने बताए । उनले विकास, लोकतन्त्र, समावेशिता र संविधान कार्यान्वयनमा काँग्रेसको भूमिकालाई जनतामाझ स्पष्ट रूपमा राख्न सके निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
‘हामीले विगतमा गरेका राम्रा कामहरू जनताले थाहा पाउने गरी प्रचार–प्रसार गर्न जरुरी छ,’ मुडभरीले भने, ‘जनताले अनुभूति गर्ने विकास र लोकतान्त्रिक मूल्य नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो । त्यसलाई सही ढंगले प्रस्तुत गर्न सक्नुपर्छ ।’
उम्मेदवार शाहको स्पष्ट सन्देशः गुट छैन, एकता छ
बैठकको मुख्य आकर्षण प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहको धारणा थियो । उनले पार्टीभित्र गुट–उपगुट रहेको भन्ने चर्चा केवल हल्ला मात्र भएको दाबी गर्दै व्यवहारमा त्यस्तो अवस्था नरहेको बताए ।
शाहले आफू स्वास्थ्य समस्याबाट गुज्रिरहेको भए पनि राजनीतिक रूपमा सक्रिय रहेको स्पष्ट पारे । ‘बिरामीका कारण म केही गर्न सक्दिन भन्ने होइन,’ उनले भने, ‘म पूर्ण रूपमा सक्रिय छु । पार्टीका तीनै समूहले मलाई नै उम्मेदवारका रूपमा छनोट गरेका छन् । तीनवटै नेता मेरो पक्षमा छन् ।’
उनले पार्टीभित्र एकताको सन्देश दिन खोज्दै बाहिर सुनिने गुटको चर्चा व्यवहारमा नदेखिने दाबी गरे । ‘कुरा गर्दा गुटको कुरा सुनिन्छ, तर व्यवहारमा छैन,’ उनले भने, ‘हामी सबैको लक्ष्य एउटै हो–कैलाली–५ मा काँग्रेसलाई जिताउने ।’
नरनारायण शाहले आफूलाई पटक–पटक ‘बाहिरिया’ भनेर आरोप लगाइने गरेकोप्रति पनि प्रतिक्रिया जनाए । उनले त्यस्ता आरोपलाई राजनीतिक पूर्वाग्रहका रूपमा व्याख्या गर्दै पार्टीले आफूलाई न्याय गरेकोमा कार्यकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताए ।
उनले जिल्ला सभापतिमा पराजित भएका प्यारेलाल रानाप्रति संकेत गर्दै केही असन्तुष्टिका कारण आरोपहरू आएको हुनसक्ने बताए । तर उनले त्यसलाई व्यक्तिगत रूपमा नलिने र कसैलाई बिगार्ने राजनीतिमा नलाग्ने स्पष्ट पारे ।
‘हामी कसैलाई कमजोर बनाउने होइन, पार्टीलाई बलियो बनाउने राजनीतिमा लाग्नुपर्छ,’ शाहले भने, ‘मान्छेहरूले पार्टीले मप्रति न्याय गरेको भन्दै प्रतिक्रिया दिइरहेका छन् । यही नै हाम्रो आधार हो ।’
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । पार्टीले चाँडै नै चुनावी घोषणापत्र जारी गर्ने निर्णय गरेको छ, जसमा क्षेत्रका विकास आवश्यकता, जनताको अपेक्षा र राष्ट्रिय मुद्दाहरू समेटिने जनाइएको छ । सो घोषणापत्र तयारीमा सचिव नृप सुनारको संयोजकत्वमा समिति गठन गरिएको छ ।
त्यसैगरी निर्वाचन परिचालन समिति गठन गरिएको छ । निर्वाचन सचिवालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । यी संरचनामार्फत पार्टीको चुनावी अभियानलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
कैलाली–५ मा सम्पन्न यो बृहत् रणनीतिक छलफलले नेपाली काँग्रेस आगामी निर्वाचनप्रति गम्भीर रहेको सन्देश दिएको छ । संगठनका सबै तहका नेता–कार्यकर्ताहरूलाई एउटै मञ्चमा ल्याएर गरिएको छलफलले पार्टीभित्र एकताको प्रयास देखाएको छ ।
अब पार्टीका लागि चुनौती भनेको बैठकमा गरिएका निर्णय र प्रतिबद्धतालाई व्यवहारमा उतार्नु हो । घोषणापत्र, परिचालन समिति र सचिवालयमार्फत काँग्रेसले कस्तो चुनावी अभियान चलाउँछ भन्ने कुराले कैलाली–५ को राजनीतिक समीकरणलाई प्रभाव पार्ने देखिन्छ ।
नेपाली काँग्रेसले एकताबद्ध रूपमा जनतामाझ पुग्न सके र आफ्नो एजेन्डा प्रभावकारी ढंगले प्रस्तुत गर्न सके, आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ मा रोचक प्रतिस्पर्धा देखिने निश्चित छ ।