धनगढी – धनगढी उपमहानगरपालिका वडा नं. ४ मा रहेको श्री शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्मित भवन उद्घाटन तथा नव–निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष बुद्धि बहादुर खड्काले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गर्दै सामूहिक रूपमा सपथ ग्रहण गराएका हुन्।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्ष कृष्ण पनेरु, उपाध्यक्ष धन बहादुर भण्डारी, सचिव माया चन्द, सह–सचिव दिप सिंह र कोषाध्यक्ष रेणु विष्ट चयन भएका छन्। सदस्यहरूमा फणिन्द्र राज अवस्थी, खेमा कुमारी भण्डारी, कलावती विष्ट, गणेश सिंह धामी, कमला चौधरी, सरज शिवाकोटी र धन बहादुर विष्ट रहेका छन्।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले २०४८ सालदेखि सुरु भएको सामुदायिक वन अवधारणाले जनताको हक अधिकार सुनिश्चित गर्नुका साथै वन संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले धनगढीको मुटुमा रहेको यो सामुदायिक वनले हरियाली र स्वच्छ हावा प्रदान गरेको उल्लेख गर्दै स्थानीय तथा महिला उपभोक्ताको मेहनतले वन जोगिएको बताए। वनलाई पार्क तथा पिकनिक स्थलका रूपमा विकास गर्न सकिने भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रमका सभापति तथा नव–निर्वाचित अध्यक्ष कृष्ण पनेरुले सामुदायिक वनलाई आगामी दिनमा योजनाबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै सहयोग र सुझावका लागि वडा अध्यक्षलाई धन्यवाद दिए।
कार्यक्रममा सब–डिभिजन वन कार्यालयका रेन्जर सत्य कुमाल, फेकोफनका महासचिव डण्डी राज सुवेदी, शिवपुरी धामका अध्यक्ष मदन बहादुर कुँवर, सनराइज टेलिभिजनका पत्रकार सुदिप थापा लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, उपभोक्ता र सरोकारवालाको सहभागिता रहेको थियो।