धनगढी– नेपाली राजनीतिमा वैकल्पिक शक्तिको खोजी तीव्र भइरहेका बेला कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नयाँ राजनीतिक हलचल देखिएको छ । आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि उज्यालो नेपाल पार्टीबाट प्रत्यक्ष उम्मेदवार बनेका सुवास कुँवरले पाँचबुँदे चुनावी घोषणापत्र बिहिबार सार्वजनिक गरेसँगै यहाँ राजनीतिक बहस चर्किएको हो ।
ऊर्जा क्षेत्रका अभियन्ता तथा पूर्व मन्त्री कुलमान घिसिङको संरक्षकत्व र पूर्व सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले युवा, ऊर्जाशील र विकासप्रेमी छविका कुँवरलाई कैलाली–४ बाट उम्मेदवार बनाएको हो । ‘अध्यारो चिर्ने’ नारासहित अघि बढेको पार्टीले कुँवरमार्फत सुदूरपश्चिमको यो महत्वपूर्ण क्षेत्रका लागि स्पष्ट विकास दृष्टिकोण सार्वजनिक गरेको छ ।
कुँवरको घोषणापत्रको मुख्य आधार कृषि आधुनिकीकरण हो । प्रत्येक नगरपालिकामा कोल्ड स्टोर (शीत भण्डार), चाइल्ड केयर र कृषि प्रशोधन केन्द्र स्थापना गर्ने उनको प्रतिबद्धता छ । किसानले उत्पादन गरेको तरकारी र फलफूल बजार नपाएर नष्ट हुनुपर्ने अवस्थाको अन्त्यका लागि पशुपालन संकलन केन्द्र र वैज्ञानिक मूल्य निर्धारण संयन्त्र लागू गर्ने योजना अघि सारिएको छ । यसले बिचौलियाको भूमिका घटाई किसानलाई प्रत्यक्ष लाभ दिने लक्ष्य लिएको छ ।
कैलाली–४ को भौगोलिक विविधतालाई अवसरमा बदल्ने उद्देश्यसहित कुँवरले चुरे क्षेत्रलाई ‘एग्रो–टुरिज्म हब’ का रूपमा विकास गर्ने योजना अघि सारेका छन् । चुरेको फलफूल खेती, प्राकृतिक सौन्दर्य र पर्यटनलाई जोडेर स्थानीय युवालाई गाइड, होटल व्यवसाय र कृषिमा रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ । साथै, युवालाई खेलकुदमा आकर्षित गर्न सुविधासम्पन्न आधुनिक रङ्गशाला निर्माण गर्ने प्रतिबद्धताले खेलप्रेमी युवामा उत्साह थपेको छ ।
दीर्घकालदेखि समाधान हुन नसकेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या कुँवरको प्रमुख एजेन्डामध्ये एक हो । ‘आश्वासन धेरै भए, अब परिणाम दिन्छौँ,’ भन्दै उनले बाढी र पहिरोबाट विस्थापित परिवारलाई स्थायी पुनःस्थापनाको ग्यारेन्टी गरेका छन् । भूमि आयोगसँग सहकार्य गर्दै वैज्ञानिक ढंगले लालपुर्जा वितरणलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
घोषणापत्रले जातीय, लैङ्गिक र क्षेत्रीय विभेदविरुद्ध स्पष्ट अडान लिएको छ । सीमान्तकृत समुदाय र महिलालाई केवल भोट बैंकका रूपमा होइन, आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिम र स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय सरकारसँग सहकार्य गर्ने योजना कुँवरले अघि सारेका छन् । ‘आवाजविहीनको आवाज बन्ने’ उनको प्रतिबद्धताले उत्पीडित समुदायमा नयाँ आशा जगाएको छ ।
भ्रष्टाचार, ढिलासुस्ती र प्रशासनिक विभेद अन्त्य गर्न कुँवरले डिजिटल सुशासनको अवधारणा अघि सारेका छन् । जनताका गुनासा र समस्या सिधै सम्बन्धित निकायसम्म पु¥याउन आधुनिक डिजिटल प्लेटफर्म निर्माण गरिने उल्लेख छ । सेवा प्रवाहमा पारदर्शिता कायम गर्न सामाजिक सुनुवाइलाई अनिवार्य बनाउने उनको योजना छ ।
कुलमान घिसिङको सकारात्मक छवि र पार्टीले अघि सारेको ‘लोककल्याणकारी राज्य’ को अवधारणाका कारण विशेषगरी ‘जेन–जी’ र बौद्धिक वर्गमा कुँवरप्रति आकर्षण बढ्दै गएको दाबी गरिएको छ ।
कुँवर भन्छन्, ‘हाम्रो लडाइँ कसैको विरोधमा होइन । यो व्यवस्थाले दिन नसकेको सेवा र नागरिकको जीवनस्तर परिवर्तनका लागि हो । कैलाली–४ ले अब केवल प्रतिनिधि होइन, सेवक र दूरदृष्टि भएको नेतृत्व पाउनेछ ।’
आगामी निर्वाचनमा कैलाली–४ को प्रतिस्पर्धा रोचक हुने निश्चित देखिन्छ । एकातिर पुराना शक्तिहरूको विरासत जोगाउने प्रयास छ भने अर्कोतिर सुवास कुँवरजस्ता नयाँ अनुहारहरू ‘काम र परिणाम’ को एजेन्डा लिएर मतदातामाझ पुगेका छन् । यो घोषणापत्र कागजमै सीमित रहन्छ वा व्यवहारमा रूपान्तरण हुन्छ भन्ने मूल्यांकन भने निर्वाचनपछिको परिणामले गर्नेछ ।