कैलाली । जेन–जी आन्दोलनका सहिद गौरव जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कैलाली–५ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्द बहादुर चन्दले प्रचारप्रसारको सुरुवात सहिदको घरबाट गरेका छन्। उनले सहिद गौरव जोशीको घरमा पुगेर आमासँग भेट गर्दै आशीर्वाद लिएका हुन्।
भेटका क्रममा सहिद गौरवकी आमा भावुक हुँदै भनिन्, “हामीले छोरो गुमाएका छौं। छोरो जे कुराका लागि आन्दोलनमा गएको थियो, त्यो पूरा गरिदिनु होला। देश बनाउनु होला।”
उनको यो भनाइ केवल एउटा परिवारको पीडा मात्र नभई सिंगो युवापुस्ताको सपना र अपेक्षाको प्रतिविम्ब भएको स्थानीयले बताएका छन्।
सहिद गौरव जोशी सचेत, सोच्ने र परिवर्तन चाहने युवापुस्ताको आवाज भएको उल्लेख गर्दै चन्दले सहिदको सपना अधुरो नरहने गरी आफू अघि बढेको बताए। उनले जेन–जी आन्दोलन र रास्वपाबीचको साझा आधार सत्ता परिवर्तन होइन, प्रणाली परिवर्तन भएको स्पष्ट पारे।
चन्दले कैलाली–५ मा यही मूल्य, विश्वास र प्रतिबद्धतासहित प्रतिनिधि सभा उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएको जनाउँदै सहिदहरूको सपना जोगाउन र वास्तविक परिवर्तन ल्याउन मतदातालाई अपिल गरे।
रास्वपाले कैलाली–५ मा घन्टी चिन्हमा मतदान गरेर परिवर्तनको यात्रामा साथ दिन आग्रह गरेको छ।