काठमाडौं, २१ चैत / नेपाली कांग्रेसले आज (शनिबार) देखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउने भएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगिाडि बढाउन लागेको हो ।
प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो । कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको थियो ।
‘आज २ बजे प्रतिनिधिहरूका लागि ‘आरेन्टेसन’ छ । ‘आरेन्टेसन’ पछि उहाँहरूको नाम सार्वजनिक गर्छौं,’ कार्यवाहक मुख्य सचिव दुललाले भने, ‘साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटिनुहुन्छ ।’ महाधिवेशनका लागि कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने गर्ने भएको छ । सदस्यता अद्यावधिकका लागि कांग्रेसले बैशाखभर एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने छ ।
एक महिने सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले क्रियाशील सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नु पर्ने छ । यस्तै क्षेत्र र जिल्लाले सदस्यता ‘इन्ट्री’ गरेर २५ जेठसम्म केन्द्रमा पठाइसक्नु पर्ने छ ।
केन्द्रले सदस्यतामा आवश्यक छानबनि गरेर अन्तिम टुंगो लगाउने मिति १५ असारका लागि तोकिएको छ । यस्तै असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कांग्रेसको कार्यतालिका छ ।