सोमवार, जेष्ठ १८, २०८३

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमको पुर्णपाठ

धनगढी– सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सोमबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेका हुन ।

विगतको तुलनामा अहिले सरकारले नीति तथा कार्यक्रमलाई परिमार्जन गरेर ल्याएको भएपनि केही लोकप्रिय कार्यक्रमलाई निरन्तरतामा राख्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेशका तीन प्रादेशिक अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको छ । प्रदेश सरकार मातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको हो ।

नीति तथा कार्यक्रममा छ पहाडी जिल्लामा रहेका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम सरकारले गौरवका आयोजनाको निर्माण आगामी वर्षभित्र सम्पन्न गर्ने नीति लिएको छ । कार्यक्रममा प्रदेश गौरवका आयोजनाको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट विनियोजन गरिने बताइएको छ ।

सुदूरपश्चिममा गरिबी दर बढी भएका पालिकामा प्रदेश सरकारले न्यूनीकरण कार्यक्रम चलाउने भएको छ । अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, डोटीको शिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याउन सघन रुपमा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

शिक्षा, स्वास्थ्य र पोषणसंग जोडेर ती पालिकामा गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा देवाटवी पर्यटक सर्किट निर्माण आरम्भ गर्ने भएको छ । उनले ‘पर्यटन पूर्वाधार समृद्धिका आधार’ भन्ने नारासहित प्रदेश भरिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक पूरातत्विक, सिमसार ताल लतैया क्षेत्रको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिने बताए ।

‘नौ वटै जिल्लाको धार्मिक क्षेत्रको संरक्षण गरी देवटवी सर्किटमा जोड्ने व्यवस्था मिलाइने छ,’ प्रदेश प्रमुख मियाले भने, ‘प्रदेशलाई पर्यटन हबको रुपमा विकास गरिने छ । यसका लागि आरोग्य पर्यटनसंग सम्बन्धित क्षमता बृद्धि र पर्यटन पूर्वाधार विकासमा जोड दिइने छ ।’

वार्षिक नीति तथा कार्यक्रम २०८३।८४