मङ्लबार, बैशाख ८, २०८३

डडेल्धुरामा सरिता मृत फेला, प्रहरीका ड्राइभर नियन्त्रणमा

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–४ मा बस्दै आएकी एक महिला मृत फेला परेपछि अनुसन्धान थालिएको छ। जिल्लाको भागेश्वर गाउँपालिका स्थायी घर भई हाल सदरमुकाम क्षेत्रमा बसोबास गर्दै आएकी सरिता गिरी (गिरी सानी) मृत फेला परेकी हुन्। स्रोतका अनुसार गिरीका श्रीमान् विगत करिब १५ वर्षदेखि वैदेशिक रोजगारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

प्रहरीका अनुसार मृतक महिलाले आत्महत्याअघि सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक प्रहरी कर्मचारीको फोटो तथा भिडियोसहित लामो स्टाटस लेखेकी थिइन्। उक्त स्टाटसमा उल्लेख गरिएका व्यक्ति जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत ड्राइभर यज्ञ साउद रहेको खुलेको छ।

मृतक महिलाको ती प्रहरीसँग अनैतिक सम्बन्ध रहेको र लामो समयदेखि मानसिक दबाबमा परेको उल्लेख सामाजिक सञ्जालमा लेखिएको नोटमा गरिएको छ। उनले आफूलाई मानसिक रूपमा पीडित बनाइएको दाबी गर्दै आर्थिक तथा गरगहना सम्बन्धी विषयसमेत उठाएकी छन्। साथै, छोराको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित व्यक्तिलाई छोरा प्रति जिम्मेवारी पूरा गर्न आग्रह गरिएको उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी बरुणबहादुर सिंहका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरी ड्राइभर साउदलाई नियन्त्रणमा लिइएको छ। परिवारजन घटनास्थलमा आइपुगेपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने उनले जानकारी दिए। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र सत्यतथ्य पत्ता लगाएपछि आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ।