मङ्लबार, बैशाख ८, २०८३

पालिकाले शिक्षामा गुणस्तर बढाउन विकास निर्माण छोडेर पनि नगर शिक्षक राखेका छौं – नगर प्रमुख भट्ट

कैलालीको गोदावरी वडा न. ३ मा रहेको श्री ग्वासी माध्यमिक विद्यालयको चारकोठे भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । चारकोठे भवन उद्घाटन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले शिक्षा र स्वास्थ्य क्षेत्रलाई गोदावरी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो।

बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विद्यालय स्थापनादेखि योगदान पुर्‍याउने व्यक्तित्वप्रति सम्मान प्रकट गर्नुभयो। नगर प्रमुख भट्टले परिणामभन्दा गुणस्तरीय शिक्षा महत्त्वपूर्ण भएको उल्लेख गर्दै शिक्षकहरूलाई केवल रिजल्ट होइन, विद्यार्थीको भविष्य निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकको तलबको जिम्मेवारी लिएको, भौतिक पूर्वाधारमा निरन्तर लगानी भइरहेको र समन्वयका आधारमा थप भवन निर्माण गरिएको जानकारी दिनुभयो। “विद्यालय हाम्रो साझा सम्पत्ति हो, यसको विकासमा सबैको भूमिका हुन्छ,” भन्दै उहाँले अभिभावक, शिक्षक र समुदायलाई सहकार्य गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश ताम्राकारले नगरपालिका र प्रदेश सरकारको ३०-३० लाख लगानीमा ४ कोठे पक्की भवन निर्माण सम्पन्न भएको बताएका छन । साथै नगर प्रमुख भट्टको सहयोग बाट निर्माण भएको भवनले बिद्यालयलाई थप सहयोग पुगेको र आगामी दिनमा पनि यस बिद्यालयमा रहेका भवनहरु जीर्ण अबस्थामा रहेको जानकारी सँगै थप सहयोगका लागि पनि माग गरेको बताएका छन । साथै भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै स्थानीय सरकारप्रति आभार व्यक्त गर्नुभयो।