बेलडाँडी – कञ्चनपुरको बेलडाँडी प्रहरीले लागू औषध नियन्त्रणमा सक्रियता बढाएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीले लागू औषध नियन्त्रणमा बढाएको सक्रियता सँगै पछिल्लो ४ महिनामा २३ जना पक्राउ परेका छन् ।
जसअन्तर्गत सोमबार मात्रै इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीको घुमुवा टोलीले बेलौरी नगरपालिका – १० सडकघाटबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सडकघाटबाट बेलौरी नगरपालिका – ७ का २ किशोरलाई ५९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बेलडाँडीका अनुसार कार्तिकमा ११.७४७ ग्राम सहित ९ जना, मंसिरमा ११.४८० ग्राम सहित ३ जना पक्राउ परे थिए भने १ जना फरार भएका छन् । पुसमा २९.२८० ग्राम सहित ६ जना पक्राउ परेका छन् ।
उत्तर प्रदेशको पिलिभित जिल्ला सँग जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतबाट लागू औषध ओसारपसारको घटना बढ्दै गएका छन् । भारतको फलिया देखि टाटरगन्ज सम्म लागू औषधको खुल्ला व्यापार हुने गरेको छ ।