शनिबार, जेष्ठ २, २०८३

धनगढीमा चौथो सिसिएस प्लस टु कप अन्तरविद्यालय खुल्ला पुरुष फुटबल प्रतियोगिता भोलीदेखि

धनगढी– कैलालीको धनगढीमा आजदेखि चौथो सिसिएस प्लस टु कप अन्तरविद्यालय खुल्ला पुरुष फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु हुने भएको छ । सिसिएस प्लस टु स्कुलको आयोजनामा सञ्चालन हुन लागेको यो प्रतियोगिता विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकास गर्दै खेलकुदमार्फत अनुशासन, नेतृत्व र टिमवर्कको भावना विकास गर्ने उद्देश्यका साथ आयोजना गरिने भएको हो ।

विगत केही वर्षयता निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले सुदूरपश्चिम प्रदेशमा विद्यालयस्तरीय फुटबलको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको आयोजकको भनाइ छ । खेलकुदलाई शिक्षा प्रणालीको अभिन्न अंगका रूपमा स्थापित गर्न तथा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको सिसिएस प्लस टु स्कुलले जनाएको छ ।

प्रतियोगिताको तयारी र व्यवस्थापनका विषयमा जानकारी दिन मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा बोल्दै आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र खेल सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार, सुरक्षा तथा व्यवस्थापन पक्षलाई मजबुत बनाइएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का (रबी)ले गर्ने कार्यक्रम तय भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि रेग्मीका अनुसार प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक विद्यालयबाट दुई टिमसहित कुल २२ वटा विद्यालयका टिमहरूले सहभागिता जनाउने छन् । यसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

रेग्मीले विद्यालयस्तरीय खेलकुदले विद्यार्थीहरूलाई पढाइसँगै अनुशासन, समय व्यवस्थापन र नेतृत्व क्षमतामा अब्बल बनाउने बताए । ‘पढाइ मात्र होइन, विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद अत्यन्त आवश्यक छ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई भविष्यका लागि तयार पार्ने महत्वपूर्ण भूमिका खेल्छन् ।’

प्रतियोगितालाई आकर्षक र प्रेरणादायी बनाउन पुरस्कार राशिलाई पनि उल्लेखनीय बनाइएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद ९१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसका अतिरिक्त व्यक्तिगत विधातर्फ पनि विभिन्न पुरस्कारहरूको व्यवस्था गरिएको छ ।

उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलकर्तालाई २ हजार ५ सय रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै उत्कृष्ट गोलरक्षकले पनि २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगिताको कुनै खेलमा ह्याट्रिक गर्ने खेलाडीलाई १ हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ भने प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।