धनगढी – धनगढीको पृथ्वी नारायण चोकमा नवनिर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। सिद्धार्थ कटेजको २८औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै कटेजद्वारा निर्माण गरिएको प्रहरी बिट औपचारिक रूपमा प्रहरीलाई हस्तान्तरण गरिएको हो।
यसअघि धनगढीको चौराह क्षेत्रमा सुरक्षाकर्मीहरू दुईवटा टिनले छाएका अस्थायी कटेरोमा बस्दै आएका थिए। प्रहरी बिट नहुँदा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवानहरूले वर्षा, घाम र जाडोका कारण निकै समस्या भोग्दै आएका थिए। स्थायी तथा सुरक्षित संरचना नहुँदा सेवा प्रवाहमा समेत चुनौती देखिँदै आएको थियो।
धनगढी उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजबहादुर ऐरको पहल तथा विशालनगर प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिल बहादुर बोगटीको आग्रहमा सिद्धार्थ कटेजको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी बिट निर्माण गरिएको हो।
सिद्धार्थ कटेजका प्रबन्ध निर्देशक केशव राज न्यौपानेले सुरक्षा प्रदान गर्दै आएका प्रहरीलाई सहज वातावरणमा सेवा दिन सहयोग पुगोस् भन्ने उद्देश्यले बिट निर्माण गरिएको बताए। उनले आगामी दिनमा पनि आवश्यक सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले धनगढीको चौराह बजार क्षेत्र अत्यन्तै संवेदनशील तथा व्यस्त केन्द्र भएकाले सुरक्षा दृष्टिले चुनौतीपूर्ण रहेको बताए। प्रहरी बिट निर्माणपछि सुरक्षाकर्मीहरूलाई अझ सुरक्षित र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ छ। उनले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत सहयोग गरेकोमा सिद्धार्थ कटेजलाई धन्यवाद व्यक्त गरे।
स्थानीयवासीका अनुसार प्रहरी सहायक निरीक्षक दिल बहादुर बोगटी विशालनगर बिटको इन्चार्ज भएर आएपछि उक्त क्षेत्रमा शान्ति सुरक्षा उल्लेखनीय रूपमा सुधार भएको छ। पछिल्लो समय लागुऔषध ओसारपसार नियन्त्रण, चोरीका घटनामा संलग्न व्यक्तिहरू पक्राउ तथा नियमित गस्तीका कारण आपराधिक गतिविधि घट्दै गएको स्थानीयको भनाइ छ।
त्यस्तै, प्रहरी जवान सन्तोष मल्ल र प्रहरी जवान दिनेश चन्दसहितको टोलीले कानुन कार्यान्वयनमा कडाइ गर्दै सक्रिय भूमिका खेल्दै आएको भन्दै स्थानीय बासिन्दाले प्रशंसा गरेका छन्। प्रहरीको निरन्तर सक्रियता र जिम्मेवार सेवाका कारण चौराह क्षेत्रको सुरक्षा अवस्था मजबुत बन्दै गएको बताइएको छ।
प्रहरी बिट हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना, वडा नं. ३ का वडा अध्यक्ष राजबहादुर ऐर, सिद्धार्थ कटेजका सञ्चालक केशव राज न्यौपाने, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डे, बुद्धिजीवी, पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो। फलाम र जस्तापातले छाना बनाइएको उक्त बिट हस्तान्तरणप्रति सम्पूर्ण सुरक्षा निकाय कैलालीले आभार व्यक्त गरेको छ।
