धनगढी २४ माघ/आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल ट्रेड युनियन कांग्रेस कैलालीले क्षेत्र नम्बर ४ मा चुनावी अभियान सशक्त बनाउन नवीन रावललाई संयोजकको जिम्मेवारी दिएको छ।
नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्यसमेत रहेका रावललाई शनिबार बसेको कार्यसमिति बैठकले चुनाव प्रचार–प्रसार परिचालन समितिको संयोजकमा नियुक्त गरेको हो। समितिको मुख्य उद्देश्य नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा श्रमिक र ट्रेड युनियन क्षेत्रलाई सक्रिय बनाउनु रहेको छ।
ट्रेड युनियन कांग्रेस कैलालीका जिल्ला अध्यक्ष सुरत स्वाँरका अनुसार संयोजक रावलको नेतृत्वमा श्रमिक भेला, अन्तरक्रिया तथा संगठन केन्द्रित कार्यक्रममार्फत चुनावी अभियानलाई तीव्र बनाइनेछ।
कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट (आनन्द) रहेको यस निर्वाचन क्षेत्रमा कांग्रेसले संगठनात्मक शक्ति परिचालन गर्दै प्रचार अभियानलाई थप प्रभावकारी बनाइरहेको छ।