सोमवार, बैशाख ७, २०८३

समृद्ध सुदूरपश्चिम अभियानले तयार पारेको कार्ययोजना उम्मेदवारहरुलाई हस्तान्तरण

अत्तरिया / समृद्ध सुदूरपश्चिम अभियान नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमले सुदूरपश्चिमका उम्मेदवारहरूका लागि तयार पारेको कार्ययोजना उम्मेदवारहरुलाई हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमा बिच सुदूरपश्चिमका उम्मेदवारहरुका लागि तयार पारिएको कार्य योजना उम्मेदवारहरुलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका १६ मध्य ७ जना उम्मेदवारहरुको उपस्थिति रहेको थियो । प्रदेशका सबै उम्मेदवारहरुलाई प्रतिबद्धता तथा कार्ययोजना हस्तान्तरण गरिने कैलाली चेम्बर अफ कर्मसका अध्यक्ष प्रमोद अधिकारीले बताएका छन् ।

‘प्रदेशका ९ वटै जिल्लाका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई प्रतिबद्धता तथा कार्ययोजना हस्तान्तरण गर्दैछौँ, उनले भने, हाम्रा शाखा भएका जिल्लामा भौतिक उपस्थितिमै हस्तान्तरण गर्दैछौँ भने नभएका जिल्लाका उम्मेदवाहरुलाई हुलाक र ह्वाट्सेपमार्फत पठाउँदैछौँ ।’

सो कार्ययोजनामा ५ वटा नीतिगत प्रतिबद्धतामा समग्र सुदूरपश्चिमको आर्थिक, सामाजिक र मानविय रुपान्तरणका लागि स्पष्ट नीति, प्राथमिकता र कार्यदिशा प्रस्तुत गरिएको छ । कार्य योजनामा स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगार, उद्यम र डिजिटल रूपान्तरण, स्वास्थ्य शिक्षा र मानव पुजी, भौतिक पूर्वाधार र रणनीतिक पहुँच र पर्यटन, खेलकुद, संस्कृति र सामाजिक न्यायका बुँदा समेटिएका छन् ।