शनिबार, बैशाख १९, २०८३

कैलाली–५ का एमाले उम्मेदवार ढुङ्गानाले सार्वजनिक गरे प्रतिबद्धता

धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले चुनावी गतिविधि तीव्र बनाएका छन् । यही क्रममा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले मतदातामाझ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विकास, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा एमालेका यज्ञराज ढुङ्गानाले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धनगढीमा आयोजित कार्यक्रममा मतदातामाझ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ढुङ्गानाले धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न पहल गर्ने घोषणा गरे ।
सूचना प्रविधि क्षेत्रमा उनले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आईटी सेवा विस्तार गर्ने योजना अघि सारेका छन् । विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ढुङ्गानाले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र निजी अस्पतालसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । साथै सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत ल्याई स्तरोन्नति गर्ने योजना पनि समेटिएको छ ।
गेटामा सञ्चालनमा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन सञ्चालन गर्ने र ६ सय शय्याको अस्पताल स्थापना गर्ने विषयलाई उनले विशेष प्राथमिकतामा राखेका छन् ।
उम्मेदवार यज्ञराज ढुङ्गाना भन्छन –‘स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत अधिकार हो । त्यसलाई पहुँचयोग्य र गुणस्तरीय बनाउने मेरो मुख्य लक्ष्य हो ।’

महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने योजना पनि प्रतिबद्धता पत्रमा उल्लेख छ । थारु समुदायमा देखिने सिकलसेल लगायत दीर्घरोगको उपचारका लागि विशेष वार्ड सञ्चालन गर्ने उनको भनाइ छ ।
रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएका ढुङ्गानाले युवा लक्षित सीपमूलक तालिम केन्द्र स्थापना, स्टार्टअप कर्जाको दायरा विस्तार तथा ‘एक युवा, एक रोजगार’ अभियानमार्फत पाँच वर्षमा कम्तीमा पाँच हजार रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेका छन् ।
औद्योगिकरणमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने र श्रमिकको न्यूनतम ज्याला प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताएका छन् ।
कृषि क्षेत्रमा आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बीमा, खाद्य प्रशोधन उद्योग स्थापना तथा भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
पूर्वाधार विकासतर्फ सडक, खानेपानी, खेलमैदान र सहरी विकासलाई प्राथमिकतामा राख्दै ‘एक घर, एक धारा’ नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता ढुङ्गानाको छ ।
सामाजिक न्याय अन्तर्गत दलित, महिला, थारु, जनजाति तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, भाषा र संस्कृतिको जगेर्ना गर्ने योजना पनि समेटिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सबै श्रमिकसम्म विस्तार गर्ने उनले बताएका छन् ।
कार्यक्रममा नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन मूल समिति संयोजक नारदमुनी रानाले राष्ट्रहितका लागि एमालेको जित आवश्यक रहेको बताएका थिए ।

कैलाली–५ मा विकास र रोजगारीलाई मुख्य मुद्दा बनाउँदै चुनावी प्रतिस्पर्धा चर्किंदै गएको छ । अब मतदाताले कसलाई विश्वास गर्छन् भन्ने निर्णय भने मतदानको दिन स्पष्ट हुनेछ ।