सोमवार, बैशाख ७, २०८३

द्वारिका प्रसाद न्यौपानेद्वारा कैलाली–१ का लागि चुनावी घोषणापत्र सार्वजनिक

धनगढी– यहाँ नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले कैलाली–१ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन । स्थानीय अगुवा, पार्टी कार्यकर्ता र सर्वसाधारणको उपस्थितिमा आयोजित कार्यक्रममा न्यौपानेले वर्षौंदेखि उपेक्षित यस क्षेत्रका समस्या अब संसद्मा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।
घोषणापत्रमा स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधार, सुशासन तथा सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ । न्यौपानेले कैलाली–१ ले प्रतिनिधि त पाएको तर आफ्नो मुद्दा प्रभावकारी रूपमा उठाउन नसकेको उल्लेख गर्दै अब यो अवस्था बदल्ने समय आएको बताए ।
उम्मेदवार द्वारिका प्रसाद न्यौपाने भन्छन –‘कैलाली–१ ले प्रतिनिधि त पायो, तर आवाज पाउन सकेन । अब संसद्मा पुगेर यहाँका नागरिकका समस्या मजबुत रूपमा उठाउने समय आएको छ ।’

घोषणापत्रमा सडक, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा अझै अपेक्षित विकास हुन नसकेको उल्लेख गरिएको छ । न्यौपानेले प्रतिनिधि सभामा पुगेर संघीय सरकारबाट यस क्षेत्रका लागि पर्याप्त बजेट र दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाए ।
रोजगारी सिर्जनालाई घोषणापत्रको मेरुदण्डका रूपमा प्रस्तुत गरिएको छ । ठूलो संख्यामा युवा रोजगारीका लागि भारत र तेस्रो मुलुक जान बाध्य भएको अवस्थालाई अन्त्य गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने उल्लेख छ । कृषि आधुनिकीकरण, स्थानीय उत्पादनमा आधारित उद्योग र थारू तथा स्थानीय संस्कृतिमा आधारित पर्यटन प्रवद्र्धनमार्फत रोजगारी बढाइने योजना अघि सारिएको छ ।
द्वारिका प्रसाद न्यौपानेले भने –‘हाम्रो लक्ष्य युवालाई विदेश जान बाध्य बनाउने होइन, यहीँ सम्मानजनक रोजगारी दिने हो ।’

शिक्षा क्षेत्र सुधारलाई पनि घोषणापत्रमा विशेष प्राथमिकता दिइएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र युवालाई सीपमूलक तालिम दिने नीति अघि सारिएको छ । शिक्षासँगै रोजगारी जोडिने खालको कार्यक्रम लागू गरिने न्यौपानेको भनाइ छ ।
स्वास्थ्य सेवाको पहुँच ग्रामीण तथा सीमान्तकृत बस्तीमा अझै कमजोर रहेको उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा सबै नागरिकसम्म पु¥याइने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । स्वास्थ्य चौकी र अस्पतालको स्तरोन्नति, दक्ष स्वास्थ्यकर्मीको व्यवस्था तथा विपन्न वर्गका लागि निःशुल्क उपचारको दायरा विस्तार गर्ने योजना समेटिएको छ ।
सुशासन र भ्रष्टाचार नियन्त्रण घोषणापत्रको अर्को महत्वपूर्ण पक्ष हो । सार्वजनिक खर्चमा कडा निगरानी, पारदर्शी कानुन निर्माण र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न संसद्मा पहल गरिने न्यौपानेले बताए ।
द्वारिका प्रसाद न्यौपानेले भने –‘जनताको करको पैसा सही ठाउँमा खर्च हुनुपर्छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइन्छ ।’

घोषणापत्रमा महिला, दलित, थारू समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको हक–अधिकार सुनिश्चित गर्न विशेष जोड दिइएको छ । साथै युवालाई केन्द्रमा राखेर सीप विकास, उद्यमशीलता, खेलकुद र नवप्रवर्तनमा लगानी बढाइने उल्लेख छ । पर्यावरण संरक्षण र दिगो विकासलाई पनि घोषणापत्रमा समेट्दै विकासका नाममा प्राकृतिक स्रोतको दोहन होइन, संरक्षणसँगै समृद्धि हासिल गर्ने नीति लिइने जनाइएको छ ।
घोषणापत्र सार्वजनिक गर्दै उम्मेदवार न्यौपानेले सांसद निर्वाचित भएमा आफूले पाउने भत्ता र पारिश्रमिक गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा खर्च गर्ने दाबीसमेत गरेका छन । अब मतदाताले यी प्रतिबद्धतालाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरा भने निर्वाचन परिणामले नै देखाउनेछ ।