शेरबहादुर ऐर
साँझ पर्नासाथ धनगढीका मुख्य सडकहरू उज्यालिन्छन् । सडक छेउमा जडान गरिएका रंगीन बत्तीहरू एकाएक बल्छन् र सहर झिलिमिली देखिन थाल्छ । चौराहा, पार्क, डिभाइडर र सडकका पोलहरूमा टाँसिएका बत्तीले बाहिरबाट हेर्दा धनगढी आधुनिक बन्दै गएको आभास दिन्छ। कतिपयका लागि यो विकासको संकेत हो, कतिपयका लागि ‘स्मार्ट सिटी’ बन्ने यात्राको प्रमाण ।
तर यही झिलिमिली सडकमा उभिएर केहीबेर नियाल्दा अर्को यथार्थ देखिन्छ–अव्यवस्थित सवारी, जोखिमपूर्ण पैदल यात्रा र नियमविहीन चोकहरू । धनगढीमा सडक बत्ती त छन्, तर सडकमा सवारी चलाउन आवश्यक पर्ने ट्राफिक बत्ती छैनन् । यही अभावले सहरको वास्तविक स्मार्टपनमाथि प्रश्न उठाइरहेको छ ।
धनगढी उपमहानगरपालिकाका मुख्य चोकहरू–क्याम्पस रोड, चौराहा, ट्राफिक चोक, सहिद गेट चोक वा अस्पताल क्षेत्र–दिनभरि सवारी चापले भरिएका हुन्छन् । मोटरसाइकल, अटो, टेम्पो, निजी गाडी र साइकल आ–आफ्नै तरिकाले अघि बढ्न खोज्छन् । कुन लेन कसको हो भन्ने स्पष्टता छैन । कसले पहिला जाने, कसले रोकिने भन्ने संकेत दिने ट्राफिक बत्ती कतै देखिँदैन ।
कतै–कतै ट्राफिक प्रहरी देखिए पनि उनीहरूको उपस्थितिले मात्र सम्पूर्ण समय र सबै चोक व्यवस्थापन गर्न सम्भव हुँदैन । ट्राफिक प्रहरी नभएको बेला चोकहरू पूर्णरूपमा चालकको मनपरीमा चल्छन् । हर्नको आवाज, आकस्मिक ब्रेक र झगडाका दृश्य धनगढीका लागि सामान्य बन्दै गएका छन् ।
स्थानीय व्यवसायी रमेश जोशी भन्छन्, ‘यहाँ नियमभन्दा आँट ठूलो छ । जो छिटो छ, उही अघि बढ्छ । ट्राफिक बत्ती भएको भए कम्तीमा सबैले पालना गर्नुपर्ने बाध्यता हुन्थ्यो ।’ धनगढीमा पैदल हिँड्नेहरूका लागि सडक पार गर्नु नै ठूलो जोखिम हो । जेब्रा क्रसिङ कतै–कतै देखिए पनि त्यसलाई सम्मान गर्ने सवारी चालक कमै छन् । ट्राफिक बत्ती नहुँदा पैदल यात्रु कहिले जाने, कहिले रोक्ने भन्ने अन्योलमा पर्छन् ।
विद्यार्थी, वृद्ध, अपाङ्गता भएका व्यक्ति र बालबालिका सबैभन्दा बढी जोखिममा छन् । अस्पताल क्षेत्र वा विद्यालय नजिकसमेत ट्राफिक संकेत नहुँदा दुर्घटनाको सम्भावना उच्च छ । स्थानीय बासिन्दाहरू भन्छन्, ‘यहाँ बाटो काट्न आँट चाहिन्छ, नियम होइन ।’ धनगढीमा पछिल्ला वर्षहरूमा सडक बत्ती र सजावटी प्रकाशमा उल्लेख्य लगानी गरिएको देखिन्छ ।
विकास देखिने हुनुपर्छ भन्ने सोचले झिलिमिली प्राथमिकतामा परेको आरोप पनि लाग्ने गरेको छ । सामाजिक सञ्जालमा तस्बिर राम्रो देखियोस्, राति सहर चम्कियोस्– यी सबै महत्वपूर्ण हुन सक्छन् । तर प्रश्न उठ्छ, के सौन्दर्य सुरक्षाभन्दा माथि हो ? सहरी विकासका विज्ञहरू भन्छन्, स्मार्ट सिटीको आधारभूत मापदण्ड नै सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री यातायात प्रणाली हो ।
ट्राफिक बत्ती कुनै विलासिता होइन, यो सहरी जीवनको न्यूनतम आवश्यकता हो । नेपालका धेरै सहरहरूमा ‘स्मार्ट सिटी’ शब्द लोकप्रिय बन्दै गएको छ । तर यसको अर्थ प्रायः सजावट, डिजिटल बोर्ड वा रंगीन बत्तीमा सीमित गरिँदै आएको छ । वास्तविक स्मार्ट सिटी भनेको डाटा आधारित निर्णय, स्वचालित ट्राफिक व्यवस्थापन, पैदल यात्रुमैत्री पूर्वाधार र दुर्घटना न्यूनीकरण हो ।
धनगढीमा ट्राफिक बत्तीको अभावले देखाउँछ–स्मार्ट सिटीको अवधारणा अझै सतही रूपमा बुझिएको छ । देखिने विकासमा जोड दिँदा नदेखिने तर अत्यावश्यक प्रणाली ओझेलमा परेका छन् । ट्राफिक बत्ती नहुँदा दुर्घटनाको जोखिम बढ्नु स्वाभाविक हो । यद्यपि धेरै दुर्घटनाहरू औपचारिक तथ्यांकमा नआउने गरेको स्थानीयहरू बताउँछन् । साना ठक्कर, मोटरसाइकल लड्ने घटना वा पैदल यात्रु घाइते हुने केसहरू सामान्य ठानिन्छन् ।
यो मौनताले समस्या झन् गहिरो बनाएको छ । जबसम्म ठूला दुर्घटना हुँदैनन्, नीति निर्माताको ध्यान जाँदैन । तर प्रश्न उठ्छ–के विकास सधैँ दुर्घटनापछि मात्र हुन्छ ? धनगढी उपमहानगरपालिकाले भौतिक पूर्वाधारमा लगानी बढाएको दाबी गर्छ । सडक विस्तार, बत्ती जडान, सौन्दर्यीकरण कार्यक्रमहरू त्यसका उदाहरण हुन् ।
तर ट्राफिक बत्ती जस्तो आधारभूत संरचनामा किन प्राथमिकता नदिइएको हो भन्ने प्रश्न अनुत्तरित छ । सडक बत्तीले राति उज्यालो दिन्छ, तर ट्राफिक बत्तीले दिनरात दुवै सहरलाई सुरक्षित बनाउँछ । सीमित बजेटको कुरा गर्दा पनि प्राथमिकता निर्धारणमै कमजोरी देखिन्छ । धनगढीका नागरिक अब केवल झिलिमिली हेरेर सन्तुष्ट हुन चाहँदैनन् । उनीहरू सुरक्षित यात्रा, अनुशासित सवारी र सहज पैदल आवागमन चाहन्छन् ।
सामाजिक सञ्जाल र स्थानीय छलफलमा ट्राफिक बत्तीको माग बढ्दै गएको छ । स्थानीय विक्रम थापा भन्छन्, ‘हामीलाई फोटो खिच्ने सहर होइन, सुरक्षित भएर घर पुग्ने सहर चाहिएको हो ।’ धनगढीलाई साँच्चै स्मार्ट बनाउने हो भने प्राथमिकता बदल्नैपर्छ । प्रमुख चोकहरूमा ट्राफिक बत्ती जडान, जेब्रा क्रसिङको कडाइका साथ कार्यान्वयन, सवारी नियमको पालना र प्रविधिको प्रयोग अपरिहार्य छ । झिलिमिली हटाउनुपर्छ भन्ने होइन, तर झिलिमिलीभन्दा पहिले आवश्यक संरचनामा लगानी हुनुपर्छ ।
धनगढीमा सडक बत्तीमा जोड दिएर चर्चा कमाउन सकिएला । तर त्यो चर्चा दीर्घकालीन विकासको मापदण्ड बन्न सक्दैन । झिलिमिलीले सहर देखिन्छ, तर ट्राफिक बत्तीले सहर चल्छ । आज धनगढीमा देखिएको अभाव यही हो–चलाउने संरचनाको । त्यसैले प्रश्न अझै उस्तै छ, अझै गम्भीर छ– के ट्राफिक बत्तीबिनाको झिलिमिली सहरलाई ‘स्मार्ट धनगढी’ भन्न मिल्छ ? सायद उत्तर खोज्ने जिम्मा अब केवल नागरिकको होइन, नीति निर्माताको पनि हो ।