सोमवार, बैशाख ७, २०८३

नेतृत्वविहीन बन्यो टीकापुर

टीकापुर (कैलाली) ।

कैलालीको टीकापुर नगरपालिका स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे तीन वर्ष नपुग्दै नेतृत्वविहीन अवस्थामा पुगेको छ । नगरप्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) दुवै पद रिक्त हुँदा नगरपालिका प्रशासन, सेवा प्रवाह र नीतिगत निर्णय प्रक्रियामा गम्भीर असर पर्ने देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्पष्ट व्यवस्था गरे पनि हालसम्म कार्यवाहक नगरप्रमुख तोक्न कार्यपालिका बैठकसमेत बस्न नसक्नुले नगरपालिकाको अवस्था थप अन्योलपूर्ण बनेको छ ।

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा राजीनामा दिएर नेकपा (एकीकृत समाजवादी÷माओवादी धारबाट गठबन्धन) तर्फबाट कैलाली–१ मा प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नगरप्रमुखले राजीनामा दिएसँगै नगरपालिकाको कार्यकारी नेतृत्व रिक्त भएको हो । उता, नगर उपप्रमुख खडक शाह भने भ्रष्टाचार मुद्दा दर्ता भएपछि यसअघि नै निलम्बनमा परेका छन् ।

यसरी नगरप्रमुख र नगर उपप्रमुख दुवै पद एकैसाथ रिक्त हुँदा टीकापुर नगरपालिका कानुनीरूपमा कार्यवाहक नेतृत्वमा जानुपर्ने अवस्था आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ र दफा १७ अनुसार नगरप्रमुख वा उपप्रमुखमध्ये कुनै एक पद रिक्त भएमा बाँकी रहेको पदधारीले कार्यभार सम्हाल्ने व्यवस्था छ ।

तर, दुवै पद रिक्त भएको अवस्थामा नगर कार्यपालिकाले आफ्नो सदस्यहरूमध्येबाट एकजनालाई कार्यवाहक नगरप्रमुख तोक्नुपर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको छ । ऐनको दफा १७(३)ले ‘नगरप्रमुख र उपप्रमुख दुवै पद रिक्त भएमा नगर कार्यपालिकाले आफूहरूमध्येबाट कार्यवाहक नगरप्रमुख तोक्नेछ’ भनी व्यवस्था गरेको छ । तर, ऐनको यो व्यवस्था कार्यान्वयन गर्न आवश्यक कार्यपालिका बैठक हालसम्म बस्न सकेको छैन ।

टीकापुर नगरपालिकामा हाल १७ जना कार्यपालिका सदस्य छन् । तीमध्ये ११ जना नेकपाबाट निर्वाचित भएका हुन् । नेकपाभित्र पनि सातजना नागरिक उन्मुक्ति पार्टीबाट र चारजना पूर्वमाओवादी धारबाट निर्वाचित कार्यपालिका सदस्य छन् । काँग्रेसबाट पाँचजना र एमालेबाट एकजना कार्यपालिका सदस्य रहेका छन् । संख्यात्मक हिसाबले नेकपाको बहुमत रहेकाले कार्यवाहक नगरप्रमुख चयनमा पनि सोही दलको निर्णायक भूमिका रहने देखिन्छ ।

नगरपालिकाका कर्मचारीहरूका अनुसार नेतृत्वविहीन अवस्थाका कारण दैनिक प्रशासनिक कामकाज त चलिरहेको भए पनि महत्वपूर्ण निर्णयहरू रोकिएका छन् । विशेषगरी नगरप्रमुखको अध्यक्षतामा रहने स्थानीय स्वास्थ्य बोर्डबाट विपन्न वर्गका बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय प्रभावित भएको छ । त्यस्तै, घरनक्सा पाससम्बन्धी पुनरावेदन, ठूला योजनाको स्वीकृति, नीति तथा कार्यक्रमको संशोधन, दीर्घकालीन योजना निर्माण, बजेट कार्यान्वयनको अनुगमनजस्ता विषयमा समस्या देखिएको छ ।

ऐनअनुसार नगरप्रमुखको अधिकार क्षेत्रमा पर्ने विषयमा निर्णय गर्न नसक्दा सेवाग्राहीसमेत मर्कामा परेका छन् । नगरसभाबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न, विकास आयोजनाको अनुगमन र मूल्यांकन गर्न तथा संघ र प्रदेश सरकारसँग समन्वय गर्न नगरप्रमुखको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा कार्यवाहक नगरप्रमुख नियुक्त नहुँदा नगरपालिका निष्क्रियजस्तै देखिन थालेको स्थानीयवासीहरूको गुनासो छ ।

कानुनले दिएको अधिकार प्रयोग नगर्दा सुशासन र सेवा प्रवाहमा नकारात्मक सन्देश जाने सरोकारवालाहरू बताउँछन् । टीकापुर नगरपालिकाका नौवटा वडामध्ये वडा अध्यक्षहरूको राजनीतिक संरचना पनि विविध छ । पूर्वमाओवादी र काँग्रेसबाट तीन–तीन जना, नागरिक उन्मुक्ति पार्टीबाट दुई जना र एमालेबाट एकजना वडा अध्यक्ष निर्वाचित भएका थिए ।

कार्यपालिका सदस्यहरूबीच कार्यवाहक नगरप्रमुख बन्ने आकांक्षा देखिन थालेको छ । एक कार्यपालिका सदस्यका अनुसार वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष लालवीर चौधरी र कार्यपालिकाका ज्येष्ठ सदस्य रामबहादुर नागर्जीले कार्यवाहक नगरप्रमुख बन्ने इच्छा व्यक्त गरेका छन् । न्यौपाने पूर्वमाओवादी पृष्ठभूमिका, चौधरी पूर्वनागरिक उन्मुक्ति पार्टीका र नागर्जी नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य हुन् ।