दार्चुला । महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाडखोलामा विगत १२ वर्षदेखि निर्माण अलपत्र अवस्थामा रहेको मोटरेबल पुलको निर्माण सुरु भएको छ ।
सङ्घीय सरकारले पुलको बाँकी काम सम्पन्न गर्न बजेट विनियोजन गरेपछि पुल निर्माणको काम सुरु भएको हो । पुल निर्माणका लागि सरकारले चालु आव २०८२/८३ मा दुई करोड रुपियाँ विनियोजन गरेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन, कार्यालय बैतडीका इन्जिनियर एवं सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी दिनुभयो ।
त्यस क्षेत्रका सात/आठ जना जग्गाधनीले सरकारी मूल्य अनुसारको मुआब्जा दिलाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि पुल निर्माणको काम पूर्णतया रोकिएको थियो । जग्गाधनीले मुआब्जा प्राप्त गरेपछि पुल निर्माणको बाटो खुलेपछि पुल निर्माणको काम सूरु गरिएको उहाँले बताउनुभयो । पुलको बाँकी संरचना निर्माण गर्न पुरानै निर्माण व्यवसायी (आशिष कन्स्ट्रक्सनसँग) २०८३ असार १५ गते कार्य सम्पन्न गर्न नयाँ सम्झौता गरिएको उहाँले बताउनुभयो । महाकाली कोरिडोर अन्तर्गतको धौलीगाड खोलामा मोटर पुल निर्माण हुन नसक्दा बर्सातमा वारपार गर्न छोटो तथा लामो दुरीका सवारीसाधनलाई निकै समस्या हुने गरेको यहाँका स्थानीयले बताएका छन् ।
यो खोलामा २५ मिटर लम्बाइको स्पान पुल निर्माण गरिने इन्जिनियर पन्तले जानकारी दिनुभयो । तोकिएको समयावधिभित्रै पुल निर्माण गर्ने गरी बाँकी संरचनाको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर चन्दले बताउनुभयो ।