आइतवार, बैशाख ६, २०८३

नेकपाले भन्यो सुदूरपश्चिम सरकार चिर निन्द्रामा छ, मुख्यमन्त्री राजीनामा दिनुस !

धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेश सरकार चिर निन्द्रामा रहेको आरोप लगाएको छ । साविकको माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको मिलनपछि प्रदेशसभामा ठूलो दल बनेको नेकपाले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो ।

दलका नेता खगराज भट्टले सरकारको दोस्रो कार्यकालको आधा अवधिभन्दा बढी समय समाप्त हुँदै गर्दा प्रदेश सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनताको खाडलमा फसेको आरोप लगाए । ‘सरकारबाट अपेक्षित कामहरू कछुवा गतिमा मात्र होइन, कतिपय अवस्थामा पूर्ण रूपमा ठप्प देखिएका छन्,’ भट्टले भने, ‘आज सरकार चिर निन्द्रामा रहेको अवस्था छ । न त विकास खर्चले गति लिएको छ, न त जनताले सरकारको उपस्थिति अनुभूति गर्न पाएका छन् । यस्तो अवस्थामा वर्तमान नेतृत्वले सरकार चलाइरहनु भनेको प्रदेशलाई अझै पछि धकेल्नु हो भन्ने हाम्रो ठहर छ ।’