सोमवार, बैशाख ७, २०८३

घरमै बसेर मत माग्दैछन् बैतडीका स्वतन्त्र उम्मेदवार

बैतडी — प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीको एकमात्र निर्वाचन क्षेत्रमा ११ जना उम्मेदवार छन् । १० जना राजनीतिक दलबाट र एक जना जयप्रकास पन्त स्वतन्त्र उम्मेदवार छन्। सबै उम्मेदवार घरदैलो अभियानमा व्यस्त भएका बेला स्वतन्त्र उम्मेदवार पन्त भने घरमै बसेर फेसबुकमा कविता र मुक्तक लेख्दै फोन मार्फत मत मागिरहेका छन् ।

पछिल्लो समयको निर्वाचन तडक–भडक गरेर जित्ने परिपाटीको अन्त गर्न र विना लगानी निर्वाचन लड्न सकिने रहेछ भन्ने सन्देश दिन आफु जनताको घरमा मत माग्न नगरएको उनले बताए । अहिले मतदाताहरु सचेत भएको उनको विश्वास छ । ‘मलाई जनताले लामो समयदेखि चिनेका र बुझेका छन् । मैले मत माग्न जानै पर्दैन,’ उनले भने, ‘जनताले दल र नेताहरुको तडक–भडक मन पराउन छाडिसकेका छन् । तर नेताहरुले बुझ्न सकेका छैनन् ।’ उनले आफ्नो फेसबुमार्फत भने मत मागरिहेका छन् । फेसबुकमा पोष्ट गरेका मुक्तक र कवितामा पनि उनले सन्देशमूलक तरिकाले मत मागेको देख्न सकिन्छ ।