अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न अटोमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
बुधवार क्याम्पस प्रशासन र सुदूरपश्चिम अटो यातायात प्रालिबिच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको क्याम्पस सम्म आवत जावतमा सहजता र नियमितता सुनिश्चित गर्न उक्त सम्झौता भएको हो ।
सम्झौता पत्रमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र बहादुर ऐर र सुदूरपश्चिम अटो यातायात प्रालिका तर्फबाट सञ्चालक अध्यक्ष सिताराम कठायतले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एक पटकको यात्राको भाडामा २० प्रतिशत छुट दिने, अटो सेवा क्याम्पस सञ्चालन हुने अवधि सम्म सञ्चालक हुने उल्लेख छ ।
सम्झौता अनुसार सेवा मार्ग अत्तरिया, स्याउले, धनगढी, गोदावरी, ओलानी र गुलरिया देखि क्याम्पस सम्म हुने जनाइएको छ ।
सुदूरपश्चिम अटो यातायात प्रालिका तर्फबाट सञ्चालक अध्यक्ष सिताराम कठायतले सम्झौता अनुसार विद्यार्थीलाई आवतजावतको सूचना उपलब्ध गराउने र सो अनुसार आफूहरूले सेवा दिने बताए । सम्झौता २०८४ माघ २७ गते सम्म कायम रहने जनाइएको छ ।

