धनगढी– कोही पकौडा तारिरहेका थिए, कोही मःम भापमा पकाउँदै थिए त कोही सेलरोटी घुमाउँदै व्यस्त देखिन्थे । कतै चटपटे मिसाइँदै थियो, कतै आलुचप सुनौलो बन्दै थियो । तर यो दृश्य कुनै होटल, रेष्टुरेन्ट वा व्यावसायिक फूड कोर्टको थिएन । यो त धनगढीस्थित एश्वर्य विद्या निकेतनको प्राङ्गणमा व्यवस्थापन संकाय कक्षा १२ का विद्यार्थीहरूले विद्यालयको योजना अनुसार आयोजना गरेको दुई दिने व्यवसायीक खाना महोत्सवको दृश्य हो ।
विद्यालय परिसर बुधबार बिहानैदेखि नै उत्साह, रौनक र उद्यमशीलताको अभ्यासले भरिएको थियो । विद्यार्थीहरूले १६ वटा स्टल स्थापना गरी आफैं नेपाली परिकार पकाउँदै र विक्री गर्दै वास्तविक व्यवसाय सञ्चालनको अनुभव लिइरहेका छन् । पकौडा, मःम, सेलरोटी, चटपटे, आलुचप, चाउमिन, पानीपुरी, जुसदेखि लिएर विभिन्न घरेलु तथा आधुनिक खानाका परिकारहरू स्टलहरूमा सजिएका थिए । हरेक स्टलमा मूल्यसूची राखिएको थियो, ग्राहकलाई आकर्षित गर्न पोस्टर टाँसिएका थिए, र विद्यार्थीहरू मुस्कानसहित सेवा दिन व्यस्त थिए ।

विद्यालयका प्राचार्य सञ्जय पन्तका अनुसार यो महोत्सव केवल मनोरञ्जन वा खाना बिक्रीका लागि मात्र नभई शिक्षण–सिकाइ प्रक्रियाको महत्वपूर्ण अंश हो । ‘यहाँ विद्यार्थीहरू व्यवसाय कसरी गर्ने, ग्राहकसँग कस्तो व्यवहार गर्ने, लगानी र नाफा–नोक्सान कसरी हिसाब गर्ने भन्ने कुरा व्यवहारमै सिकिरहेका छन्,’ प्राचार्य पन्तले भने ‘भोलीका दिनमा सिप विकास र व्यवसायीक सोच उत्पादन गर्ने उद्देश्यले यो महोत्सव विद्यार्थीहरूले आफैं आयोजना गरेका हुन् । यसले उनीहरूमा आत्मविश्वास र नेतृत्व क्षमता पनि विकास गर्छ ।’

उनका अनुसार कक्षा कोठामा पढाइने ‘उद्यमशीलता’, ‘व्यवस्थापन सिद्धान्त’, ‘लेखा’ जस्ता विषयलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने गरेका छन् । विद्यार्थीहरूले प्रारम्भिक लगानी जुटाउनेदेखि लिएर कच्चा पदार्थ खरिद, उत्पादन, मूल्य निर्धारण, ग्राहक सेवा र अन्त्यमा नाफा–नोक्सानको विश्लेषणसम्मको सम्पूर्ण प्रक्रिया आफैं सम्हालेका छन् ।
महोत्सवमा सहभागी एक विद्यार्थीले भने, ‘हामीले समूह बनाएर स्टल राखेका छौं । सुरुमा कति लगानी गर्ने, के–के परिकार बनाउने, कति मूल्य राख्ने भनेर छलफल गर्यौं । अहिले ग्राहकको प्रतिक्रिया हेरेर अझै सुधार गर्ने योजना बनाइरहेका छौं ।’
अर्की एक छात्राले भनिन्, ‘पहिला त डर लाग्थ्यो–ग्राहकसँग कसरी कुरा गर्ने, बिक्री कसरी बढाउने ? तर अहिले आफैं अनुभव गर्दा धेरै कुरा सिक्न पाइयो । ग्राहकलाई मुस्कानसहित स्वागत गर्दा उनीहरू फेरि आउँछन् भन्ने कुरा पनि बुझ्यौं ।’
विद्यार्थीहरू केवल खाना पकाउने मात्र होइन, सरसफाइ, समय व्यवस्थापन र समन्वयमा पनि सजग देखिन्थे । कतै सामग्री सकिँदा तुरुन्त व्यवस्थापन गर्ने, कतै लामो लाइन लाग्दा छिटो सेवा दिने प्रयास, कतै ग्राहकको गुनासो सुनेर सुधार गर्ने–यी सबै गतिविधि उनीहरूको जिम्मेवारीबोध झल्काउने खालका थिए ।
महोत्सव हेर्न तथा स्वाद लिन विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरू पनि पुगेका थिए । धेरै अभिभावकहरूले आफ्ना छोराछोरीलाई प्रत्यक्ष व्यवसाय सञ्चालन गरिरहेको देख्दा गर्व व्यक्त गरे ।
महोत्सवको अर्को महत्वपूर्ण पक्ष भनेको घरेलु परिकार बनाउने सिपको संरक्षण र प्रवद्र्धन हो । सेलरोटी, पकौडा, मःम जस्ता परिकारहरू नेपाली भान्साको पहिचान हुन् । विद्यार्थीहरूले यस्ता परिकार बनाउँदै न केवल व्यापारिक अभ्यास गरेका छन्, बरु सांस्कृतिक पहिचानलाई पनि जोड दिएका छन् ।
प्राचार्य पन्तका अनुसार, ‘घरेलु परिकार बनाउने सिप बस्नु पनि महत्वपूर्ण कुरा हो । सबै विद्यार्थीहरू भविष्यमा ठूला व्यवसायी नै बन्छन् भन्ने छैन, तर आत्मनिर्भर सोच र सीप भने जीवनभर काम लाग्छ ।’

बुधबारदेखि सुरु भएको महोत्सव बिहीबार साँझ ४ बजेसम्म सञ्चालन हुनेछ । दुई दिनको छोटो अवधिमा विद्यार्थीहरूले पाउने अनुभव भने दीर्घकालीन प्रभाव पार्ने खालको हुने विद्यालय प्रशासनको विश्वास छ । शिक्षकहरूका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व र टोलीगत कार्य क्षमता, निर्णय क्षमता र समस्या समाधान कौशल, आर्थिक अनुशासन र हिसाब–किताबको ज्ञान, ग्राहक सेवा र सञ्चार सीप, आत्मविश्वास र प्रस्तुतीकरण कला लगायतको विकास गर्न मद्दत गर्छ ।
पछिल्लो समय विद्यालय तथा कलेजहरूमा व्यवहारिक शिक्षामा जोड दिन थालिएको छ । एश्वर्य विद्या निकेतनले आयोजना गरेको यो व्यवसायीक खाना महोत्सव त्यसैको एक उदाहरण हो । केवल परीक्षामुखी शिक्षाभन्दा बाहिर निस्केर सीपमुखी तथा प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिनु अहिलेको आवश्यकता भएको शिक्षाविद्हरू बताउँछन् ।
यस महोत्सवले विद्यार्थीहरूलाई ‘जागिर खोज्ने’ मात्र होइन, ‘रोजगार सिर्जना गर्ने’ सोचतर्फ उन्मुख गराउने लक्ष्य लिएको विद्यालयले जनाएको छ ।
विद्यालय प्राङ्गणमा देखिएको यो सानो अभ्यासले ठूलो सन्देश दिएको छ–पढाइ केवल किताबमा सीमित हुँदैन; व्यवहार, सीप र आत्मविश्वासको संगम नै वास्तविक शिक्षा हो ।
एश्वर्य विद्या निकेतनमा आयोजित व्यवसायीक खाना महोत्सवले यही सन्देशलाई व्यवहारमै उतारेको छ । दुई दिनको यो कार्यक्रमले विद्यार्थीहरूलाई केवल स्वादिलो परिकार बनाउने मात्र होइन, जीवनमा अघि बढ्ने साहस र उद्यमशील सोच पनि प्रदान गरिरहेको उनीहरुको भनाई छ ।