काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सिटका लागि मतदान हुँदैछ ।
यसपटकको निर्वाचनका लागि विदेशमा बस्ने नेपालीहरूले पनि निकै चासो देखाइरहेका छन् । यसअघि विदेशमा बस्नेहरुलाई मतदानको अधिकार दिनेबारे छलफल भएको थियो, तर प्रयास असफल भएपछि विदेशमा बस्ने नेपालीहरू मतदान गर्न धमाधम स्वदेश फर्किन थालेका छन् ।
पछिल्लो समय विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दै गएको अध्यागमन विभागको तथ्यांकबाट देखिएको छ । पछिल्ला दिनमा विदेश जानेभन्दा फर्किनेको संख्या बढेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकाल बताउँछन् । ‘फर्किनेहरुको संख्या बढेको छ तर किन बढे भन्ने विषयमा हामीले विश्लेषण गरेका छैनौं,’ उनी भन्छन् ।
माघ १८ देखि २७ सम्ममा ५१ हजार ७९ जना स्वेदश फर्किएका छन् । त्यस अवधिमा ५० हजार मानिस विदेशिए । पछिल्लो अवधिमा जाने भन्दा फर्किनेको संख्या एक हजारले बढी देखिन्छ । त्यस अवधिमा साउदी अरेबियाबाट ४ हजार ७०७ जना फर्किए । कतारबाट ५ हजार ५१७ आएका छन् । यस्तै कतारमा ५ हजार ६ जना गएका छन् ।
सन् २०२६ जनवरी अर्थात् पुस १७ देखि माघ १७ सम्म १ लाख ५८ हजार १४६ जना नेपाल फर्किएका छन् । त्यस अवधिमा १ लाख ५७ हजार ६५८ जना विदेशिएको अध्यागमन विभागले जनाएको छ । पुस १७ पछिको १ महिनामा साउदी अरेबियाबाट १३ हजार ३३६ जना नेपाल फर्किए । त्यस अवधिमा १४ हजार ५९४ जना साउदी अरेबिया गएका थिए । यस्तै कतारबाट १८ हजार नेपाल आए भने १५ हजार गएको तथ्यांकबाट देखिएको छ । त्यस अवधिमा यूएईबाट २६ हजार ४ सय जना आउँदा १८ हजार ४०० मात्रै गएको देखिएको छ ।