धनगढी– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर ५ मा चुनावी गतिविधि तीव्र बनेको छ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्मेदवार रोशन शाही यतिबेला घरदैलो, टोलसभा र अन्तरक्रिया कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका छन् ।
यसैक्रममा बुधबार आयोजित एक कार्यक्रममा एक सय जना युवा राप्रपामा प्रवेश गरेका छन् । विभिन्न पेशा तथा व्यवसायमा आबद्ध ती युवाहरूले पार्टीको नीति, सिद्धान्त र उम्मेदवार शाहीको विकाससम्बन्धी दृष्टिकोणबाट प्रभावित भएर पार्टीमा आवद्ध भएको बताएका छन् ।
‘हामीले विकास, रोजगारी र सुशासनको स्पष्ट योजना देख्यौं । त्यसैले हामी राप्रपामा प्रवेश गरेका हौं ।’
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रोशन शाहीले युवाहरूको सहभागिताले परिवर्तनको संकेत दिएको दाबी गरे ।
उम्मेदवार रोशन शाही भन्छन– ‘युवाहरूको यो सहभागिताले कैलाली–५ मा परिवर्तनको हुरी आएको संकेत गर्छ । हामी विकास र रोजगारीका ठोस योजनासहित जनतामाझ पुगेका छौं । अब समय आएको छ—काम गर्ने नेतृत्व रोज्ने ।’
शाहीले आफ्नो चुनावी एजेन्डामा विशेषगरी रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवद्र्धन र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । उनका अनुसार कैलाली–५ मा पर्याप्त सम्भावना हुँदाहुँदै पनि योजनाबद्ध विकास हुन सकेको छैन ।
युवासँगै शाहीले ज्येष्ठ नागरिकसँग पनि प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । सामाजिक सुरक्षा, स्वास्थ्य सेवा पहुँच र सम्मानजनक जीवनयापनका विषयमा उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
एक ज्येष्ठ नागरिकले भने ‘हामीलाई काम गर्ने र सुन्ने प्रतिनिधि चाहिएको छ । अबको नेतृत्वले हाम्रो समस्या बुझ्नुपर्छ ।’
राप्रपाले कैलाली–५ मा आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति लिएको छ । परम्परागत दलप्रति असन्तुष्टि व्यक्त गर्ने मतदातालाई लक्षित गर्दै शाहीले पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता जनाएका छन् ।
विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाबीच रोजगारी, शिक्षा र अवसरको मुद्दा प्रमुख रूपमा उठिरहेको छ । यही वर्गलाई केन्द्रमा राखेर राप्रपाले संगठन विस्तार र जनसम्पर्कलाई तीव्र बनाएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली–५ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । विभिन्न दलका उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदातामाझ पुगिरहेका छन् ।