आइतवार, बैशाख ६, २०८३

पुलको छेउमै डोजरको गर्जनः खुटिया खोलामा अवैध बालुवा उत्खन्न, जोखिममा स्थानीय जीवन

शेरबहादुर ऐर

धनगढी– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित धनचौरीको खुटिया खोलाको किनारमा अस्वाभाविक चहलपहल देखिन्छ । खोलाको पानी सामान्य गतिमा बगिरहेको छ, तर किनारमा डोजरको गर्जन र टिप्परको लाइनले दृश्य असामान्य बनाएको छ । इस्काभेटरले खोला खन्दैछ, बालुवा सिधै ट्याक्टर र टिप्परमा भरिँदैछ । त्यहीँ केही मिटर पर हल्लिँदैजस्तो देखिने झोलुङ्गे पुल छ– स्थानीयको दैनिक जीवनरेखा ।

यो दृश्य हो गोदावरी नगरपालिका–९ धनचौरीस्थित खुटिया खोलाको, जहाँ पछिल्लो समय अवैध रूपमा बालुवा उत्खन्न भइरहेको गुनासो बढ्दो छ । स्थानीयका अनुसार यहाँ उत्खन्न केवल दिनमा मात्र होइन, रातिको समयमा समेत जारी रहने गरेको छ ।

स्थान अवलोकनका क्रममा देखिएको थियो– गहिरो खाडल बनाउँदै इस्काभेटरले बालुवा निकालिरहेको । बालुवा लोड भएका टिप्परहरू पालैपालो मुख्य सडकतर्फ गइरहेका थिए । पुलको आधारदेखि अत्यन्त नजिक उत्खन्न भइरहेको स्पष्ट देखिन्थ्यो ।

स्थानीय बासिन्दा भन्छन्, ‘पुलको छेउमै खन्दैछन् । यसअघि जथाभावी उत्खन्नले पुलनै कटान भइसकेको छ । वारपार गर्न पनि खोला तर्नुपर्ने बाँध्यता छ तर, अझै पनि उत्खन्न पुलक्षेत्रमा रोकिएन । बर्खामा पानी बढ्दा के हुन्छ भन्ने कसैले सोच्दैन ।’

खुटिया खोलाको झोलुङ्गे पुल दैनिक सयौँ मानिसको आवतजावतको माध्यम थियो । तर, अहिले कटान भइसकेपछि विद्यालय जाने बालबालिका, बजार पुग्ने किसान, उपचारका लागि धनगढी जाने बिरामी–सबैका लागि यो पुल अत्यावश्यक छ । क्षति पुग्दा अहिले ओहोरदोहोर गर्न समस्या छ ।’

नेपालको प्रचलित कानुनअनुसार पुल, तटबन्ध, सडक वा बस्ती नजिक नदीजन्य पदार्थ उत्खन्न गर्न पाइँदैन । उत्खन्नका लागि निश्चित दूरी, गहिराइ र वैज्ञानिक अध्ययन आवश्यक हुन्छ । वातावरणीय प्रभाव मूल्यांकन तथा स्वीकृत मापदण्डबिना उत्खन्न गर्नु अवैध मानिन्छ । तर खुटिया खोलामा भइरहेको गतिविधि यी प्रावधानको ठाडो उल्लंघनजस्तो देखिन्छ ।

जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमल प्रकाश जोशीले गोदावरी क्षेत्रमा जथाभावी उत्खन्न भइरहेको गुनासो आउने गरेको स्वीकार गर्छन् । उनले भने, ‘रातिको समयमा पनि उत्खन्न भइरहेको गुनासो आइरहन्छ । यस्ता विषयमा स्थानीय तह सक्रिय हुन जरुरी छ ।’ उनको भनाइले एउटा तथ्य स्पष्ट गर्छ–गुनासो छ, तर प्रभावकारी नियन्त्रण देखिएको छैन ।

स्थानीयका अनुसार दिनमा जति उत्खन्न हुन्छ, राति पनि उति नै सक्रियता देखिन्छ । विशेषगरी साँझपछि टिप्परहरूको आवाज बढ्ने गरेको उनीहरूको दाबी छ । एक स्थानीय युवाले भने, ‘दिनमा फोटो खिच्न मिल्छ, राति कसले देख्छ ? प्रहरी चौकी नजिकै हुँदा पनि कारबाही हुँदैन ।’

रातिको समयमा हुने उत्खन्नले अनुगमन प्रक्रिया कमजोर बनाउने सम्भावना हुन्छ । अँध्यारोको आडमा नियम उल्लंघन सजिलै हुने गरेको विगतका उदाहरणहरूले देखाउँछन् ।

इन्जिनियरिङ दृष्टिकोणले हेर्दा पुलको आधार नजिक गहिरो उत्खन्न गर्दा ‘स्कौरिङ’ अर्थात् जग मुनिको माटो बगेको छ । यसले पुल कमजोर बनायो र कटान भइसकेपछि मर्मत सुरसार छैन । स्थानीयवासी भन्छन्, ‘हामीले पहिले पनि बाढीमा पुल हल्लिएको देखेका छौं । अहिले झन् गहिरो खनेपछि के होला ?’ पुल क्षतिग्रस्त हुदाँ पुनर्निर्माणमा ठूलो लागत अनुमान गरिएको छ । साथै, अहिलेका लागि आवतजावत पूर्ण रूपमा अवरुद्ध छ ।

अव्यवस्थित उत्खन्नले नदीको प्राकृतिक संरचना बिगार्ने, बहाव दिशा परिवर्तन गर्ने र तटीय क्षेत्र कटान बढाउने खतरा हुन्छ । जलचर प्राणीको बासस्थान नष्ट हुन सक्छ । साना खोलामा अत्यधिक गहिरो उत्खन्नले दीर्घकालीन पर्यावरणीय क्षति निम्त्याउन सक्छ ।

वातावरणविद्हरूका अनुसार नदीजन्य पदार्थ उत्खन्न गर्दा वैज्ञानिक आधारमा मात्र सीमित परिमाणमा काम गर्नुपर्छ । नदीको पुनःभरण क्षमता भन्दा बढी उत्खन्न गर्दा नदीको सन्तुलन बिग्रन्छ ।

नदीजन्य पदार्थ स्थानीय तहका लागि प्रमुख राजस्व स्रोत हो । बालुवा, गिट्टी र ढुंगाबाट प्राप्त आम्दानी विकास योजनामा खर्च हुने तर्क प्रस्तुत गरिन्छ । तर प्रश्न उठ्छ–राजस्व संकलनका लागि दीर्घकालीन जोखिम स्वीकार्य छ ?

पुलमा पुगेको क्षति भइसकेको छ र बस्ती कटानमा प¥यो भने त्यसको सामाजिक र आर्थिक लागत धेरै ठूलो हुन सक्छ । विशेषज्ञहरू भन्छन्, ‘अल्पकालीन आम्दानीका लागि दीर्घकालीन क्षति निम्त्याउनु दूरदर्शिता होइन ।’

संघीय संरचनाअनुसार नदीजन्य पदार्थ व्यवस्थापनको अधिकार स्थानीय तहमा छ । उत्खन्न क्षेत्र निर्धारण, ठेक्का प्रक्रिया, अनुगमन र कारबाही–सबै जिम्मेवारी नगरपालिका मातहत पर्छ । तर गोदावरी क्षेत्रमा भइरहेको उत्खन्नमा प्रभावकारी निगरानी नदेखिएको स्थानीयको आरोप छ । कतिपयले राजनीतिक संरक्षण रहेको आशंका व्यक्त गरे पनि त्यसबारे आधिकारिक पुष्टि छैन ।

जिल्ला समन्वय समिति कैलाली ले समन्वयकारी भूमिका खेल्न सक्ने भए पनि प्रत्यक्ष नियन्त्रणको अधिकार सीमित रहेको बताइएको छ ।
धनचौरीका बासिन्दा अब चुप बस्न तयार छैनन् । उनीहरूले पुल आसपासको उत्खन्न तत्काल रोक्न, संयुक्त अनुगमन टोली गठन गर्न, रातिको उत्खन्नमा कडाइ गर्न, पारदर्शी ठेक्का प्रक्रिया लागू गर्न माग गरेका छन् ।

एक स्थानीय समाजसेवी भन्छन्, ‘आज नरोके भोलि ठूलो दुर्घटना हुन्छ । त्यसपछि दोष कसलाई दिने ?’

खुटिया खोलामा भइरहेको अवैध बालुवा उत्खन्न केवल कानुनी विषय होइन–यो सार्वजनिक सुरक्षासँग जोडिएको संवेदनशील मुद्दा हो । झोलुङ्गे पुल, स्थानीय बस्ती र वातावरण सबै जोखिममा छन् ।

गुनासो आइरहँदा पनि ठोस कदम नचालिनु चिन्ताजनक छ । स्थानीय तह, प्रशासन, प्रहरी र सम्बन्धित निकायबीच समन्वय गरी तत्काल प्रभावकारी अनुगमन र कारबाही आवश्यक देखिन्छ । खोलाको प्राकृतिक स्वर अहिले डोजरको गर्जनले दबिएको छ । तर यदि समयमै नियन्त्रण गरिएन भने भोलि बाढीको गर्जनले ठूलो क्षति निम्त्याउन सक्छ । विकास र वातावरणबीच सन्तुलन कायम गर्ने जिम्मेवारी अब सम्बन्धित निकायका काँधमा छ– र स्थानीय बासिन्दाको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ ।