आइतवार, बैशाख ६, २०८३

पुलको छेउमै डोजरको गर्जनः खुटिया खोलामा अवैध बालुवा उत्खन्न, जोखिममा स्थानीय जीवन

पुलको छेउमै डोजरको गर्जनः खुटिया खोलामा अवैध बालुवा उत्खन्न, जोखिममा स्थानीय जीवन
धनगढी– सुदूरपश्चिमको कैलालीमा नदीजन्य पदार्थ उत्खन्नको विषय फेरि विवादमा आएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित खुटिया खोलामा झोलुङ्गे पुलको छेउमै भइरहेको बालुवा उत्खन्नले स्थानीय बासिन्दाको जीवन जोखिममा परेको गुनासो बढ्दो छ । कानुनी मापदण्ड विपरीत उत्खन्न भइरहेको आरोपबीच प्रशासनको प्रभावकारी निगरानी नदेखिएको स्थानीयको भनाइ छ । हाम्रा सहकर्मी शेरबहादुर ऐरको यो विशेष रिपोर्ट ।
यो दृश्य हो खुटिया खोला, गोदावरी नगरपालिका–९ धनचौरी । खोलाको पानी शान्त देखिए पनि किनारमा डोजरको गर्जनले वातावरण असामान्य बनेको छ । इस्काभेटरले गहिरो खाडल बनाउँदै बालुवा निकालिरहेको छ । केही मिटर पर स्थानीयको दैनिक जीवनरेखा बनेको झोलुङ्गे पुल उभिएको छ ।
म अहिले खुटिया खोलाको किनारमा छु । यहाँ देख्न सक्नुहुन्छ–पुलको आधार नजिकैबाटै बालुवा उत्खन्न भइरहेको छ । स्थानीयका अनुसार यहाँ दिनमात्र होइन, रातिको समयमा पनि उत्खन्न जारी रहन्छ । पुल यसअघि नै कटानको जोखिममा परिसकेको छ ।
एक स्थानीय भन्छन –‘पुलकै छेउमा खन्दैछन् । पहिले पनि बाढीमा पुल हल्लिएको थियो । अहिले झन् गहिरो खनेका छन् । बर्खामा के हुन्छ कसैले सोच्दैन ।’
अर्का स्थानीय युवाले भने –‘दिनमा फोटो खिच्न मिल्छ, राति कसले देख्छ ? प्रहरी चौकी नजिकै हुँदा पनि कारबाही हुँदैन ।’
यो झोलुङ्गे पुल दैनिक सयौँ मानिसको आवतजावतको माध्यम थियो । विद्यालय जाने बालबालिका, बजार पुग्ने किसान, उपचारका लागि धनगढी जाने बिरामी । पुल क्षतिग्रस्त हुँदा अहिले ओहोरदोहोरमै समस्या भएको स्थानीय बताउँछन् ।
नेपालको प्रचलित कानुनअनुसार पुल, तटबन्ध, सडक वा बस्ती नजिक नदीजन्य पदार्थ उत्खन्न गर्न पाइँदैन । निश्चित दूरी, गहिराइ र वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य हुन्छ । तर यहाँ भइरहेको गतिविधि ती प्रावधानको ठाडो उल्लंघनजस्तो देखिन्छ ।
जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमल प्रकाश जोशीले गोदावरी क्षेत्रमा जथाभावी उत्खन्न भइरहेको गुनासो आउने गरेको स्वीकार गर्छन् ।
जोशी भन्छन –‘रातिको समयमा पनि उत्खन्न भइरहेको गुनासो आइरहन्छ । यस्ता विषयमा स्थानीय तह सक्रिय हुन जरुरी छ ।’ उनको भनाइले गुनासोको पुष्टि गर्छ, तर प्रभावकारी नियन्त्रण अझै देखिएको छैन ।
स्थानीयका अनुसार साँझपछि टिप्परको आवाज झन् बढ्छ । अँध्यारोको आडमा हुने उत्खन्नले अनुगमन प्रक्रिया कमजोर बनाउने जोखिम हुन्छ ।
इन्जिनियरिङ दृष्टिकोणले पुलको आधार नजिक गहिरो उत्खन्न गर्दा ‘स्कौरिङ’ अर्थात् जगमुनिको माटो बग्ने जोखिम बढ्छ । यसले पुल कमजोर बनाउँछ । बर्खामा पानीको बहाव बढ्दा ठूलो दुर्घटना हुन सक्छ । अव्यवस्थित उत्खन्नले नदीको प्राकृतिक संरचना बिगार्ने, बहाव दिशा परिवर्तन गर्ने र तटीय कटान बढाउने खतरा हुन्छ । जलचर प्राणीको बासस्थानसमेत नष्ट हुन सक्छ ।
नदीजन्य पदार्थ स्थानीय तहका लागि प्रमुख राजस्व स्रोत हो । बालुवा, गिट्टी र ढुंगाबाट प्राप्त आम्दानी विकास योजनामा खर्च हुने तर्क गरिन्छ । तर प्रश्न उठ्छ–अल्पकालीन आम्दानीका लागि दीर्घकालीन जोखिम स्वीकार्य छ ? संघीय संरचनाअनुसार नदीजन्य पदार्थ व्यवस्थापनको अधिकार स्थानीय तहमा छ । उत्खन्न क्षेत्र निर्धारणदेखि अनुगमन र कारबाहीसम्म सबै जिम्मेवारी नगरपालिका मातहत पर्छ ।
स्थानीयहरु भन्छन –‘आज नरोके भोलि ठूलो दुर्घटना हुन्छ । त्यसपछि दोष कसलाई दिने ?’
स्थानीयले पुल आसपासको उत्खन्न तत्काल रोक्न, संयुक्त अनुगमन टोली गठन गर्न र रातिको उत्खन्नमा कडाइ गर्न माग गरेका छन् ।
खुटिया खोलामा भइरहेको बालुवा उत्खन्न केवल कानुनी विषय मात्र होइन–यो सार्वजनिक सुरक्षासँग जोडिएको संवेदनशील मुद्दा हो । झोलुङ्गे पुल, स्थानीय बस्ती र वातावरण सबै जोखिममा छन् । गुनासो आइरहँदा पनि ठोस कदम नचालिनु चिन्ताजनक छ ।
समयमै प्रभावकारी अनुगमन र नियन्त्रण नभए, आज डोजरको गर्जन सुनिएको यो ठाउँमा भोलि बाढीको गर्जनले ठूलो क्षति निम्त्याउन सक्छ ।