धनगढी– धनगढीका बजारमा अहिले रेस्सा परेको कालो झोला सर्वत्र देखिन्छ । किराना पसल, तरकारी बजारदेखि होलसेल गोदामसम्म यही झोला प्रयोग भइरहेको छ । प्लाष्टिक प्रतिबन्धपछि विकल्पका रूपमा आएको गैर–बुनेको पोलीप्रोपाइलिन झोला कपडाजस्तै देखिन्छ, बलियो छ र पुनःप्रयोग गर्न मिल्ने भनिन्छ । तर, यही झोलाबाट मसिना प्लास्टिकका रेसा छुट्ने र ती कण खाद्यान्नमार्फत मानव शरीरमा प्रवेश गर्न सक्ने आशंका व्यक्त गरिएको छ ।
स्थानीय एक व्यापारीले भने ‘हामी त प्लाष्टिक बन्द भएपछि यही झोला प्रयोग गरिरहेका छौं । सुरक्षित होला भनेर सोचेका थियौं । अब जोखिम छ भन्ने सुन्दा चिन्ता लागेको छ ।’
स्वास्थ्य विज्ञहरूका अनुसार गैर–बुनेको पोलीप्रोपाइलिन झोला ‘फूड ग्रेड’ प्रमाणित नभएसम्म सिधै खाद्यान्न राख्नु सुरक्षित हुँदैन । समयसँगै झोला घिस्रिँदा माइक्रोप्लास्टिक कण छुट्न सक्छ । अन्तर्राष्ट्रिय अध्ययनहरूले माइक्रोप्लास्टिक मानव शरीरको रगत, फोक्सो र पाचन प्रणालीमा समेत भेटिएको देखाएका छन् । तातो वा ओसिलो खाना राख्दा झोलामा प्रयोग भएका रसायन सर्ने जोखिम पनि हुन्छ ।
सुख्खा र बोक्रा भएका तरकारी ओसारपसार गर्न ठीक होला, तर चामल, दाल, पिठो वा पकाएको खाना सिधै यस्ता झोलामा राख्नु उपयुक्त छैन । दीर्घकालीन असर देखिन सक्छ ।
बोक्रा भएका फलफूल, नधोएको आलु, प्याज सुरक्षित छन तर, चामल, दाल, पिठो, पकाएको वा काटिएको खाना सुरक्षित मानिदैन । प्लाष्टिक प्रतिबन्धपछि बजारमा मोटा पोलिथिन झोला पनि देखिन थालेका छन् । तर ती सबै गुणस्तरीय छन् भन्ने ग्यारेन्टी छैन । विशेषज्ञहरूका अनुसार पोलिथिन कम्तीमा ४० वा ५० माइक्रोन मोटाइको हुनुपर्छ । ‘फूड ग्रेड’ प्रमाणित नभएको पोलिथिनमा भारी धातु वा विषाक्त रसायन मिसिएको हुन सक्छ ।
ति व्यवसायीले भने ‘हामीले निर्देशनालयमा निवेदन दिएका छौं । साउनदेखि उजुरी दर्ता छ तर अहिलेसम्म छानबिन भएको छैन ।’
नेपालको खाद्य ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार खाद्यान्नसँग प्रत्यक्ष सम्पर्कमा आउने सामग्रीको गुणस्तर परीक्षण अनिवार्य छ । स्थानीय तहलाई बजार अनुगमनको जिम्मेवारी दिइएको छ ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले सम्बन्धित महाशाखालाई जानकारी गराइएको तर जनशक्ति अभावका कारण अनुगमन हुन नसकेको बताएकी छन् ।
यसबीच, झोला उत्पादक कम्पनी राजनीतिक पहुँच नजिक रहेको आरोप पनि लागेको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।
उपप्रमुख राना भन्छिन –‘हामीले सम्बन्धित शाखालाई जानकारी दिएका छौं । अनुगमन प्रक्रिया अघि बढाइनेछ ।’
पोलीप्रोपाइलिन पनि प्लाष्टिककै एक रूप हो । यो जैविक रूपमा छिटो विघटन हुँदैन । यदि छोटो समयमै खुइलिएर फालियो भने माइक्रोप्लास्टिक प्रदूषण बढ्न सक्छ । वातावरण बचाउने प्रयास स्वास्थ्य जोखिममा परिणत नहोस् भन्ने चुनौती अहिले धनगढीमा देखिएको छ । विकल्प ल्याउँदा वैज्ञानिक परीक्षण र प्रमाणिकरण अनिवार्य हुनुपर्छ । नत्र समस्या झन् जटिल हुन्छ ।
प्लाष्टिक प्रतिबन्ध सकारात्मक कदम थियो । तर, त्यसको विकल्प सुरक्षित र प्रमाणित नहुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा पर्न सक्छ । विशेषज्ञहरूले सुतीको कपडाको झोला वा स्टिल तथा काँचका भाँडामा खाद्यान्न भण्डारण गर्न सुझाव दिएका छन् । अब प्रश्न छ–के स्थानीय निकायले समयमै वैज्ञानिक परीक्षण र प्रभावकारी अनुगमन गर्छ ?